डा.केपी सिंहलाई राजीनामा गराउने सरकारी तयारी
काठमाण्डौं १३ मंसिर । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य प्रति सरकारी वार्ता समिति गंभीर बनेको छ । केसीको स्वास्थ्यलाई ध्यानमा राखेर समितिले आइओएमका डीन डा. केपी सिंहलाई राजीनामा गराउने प्रयास गरिरहेको छ ।
डा. केसीका प्रतिनिधि र सरकारी समितिबीच भैरहेको वार्ता सकरात्मक तर्फ उन्मुख छ । डा. केसीले आइओएमका डिन डा. सिंहले राजीनामा नदिएसम्म आफुले अनसन् नतोड्ने चेतावनी दिएपछी डा. केसीको जीवन रक्षाको लागि सरकारले शनिबार शिक्षा सचिव शान्त बहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेति सम्मिलित वार्ता समिति गठन गरेको थियो ।
यो सरकारी समितिले आइओएमका डिन डा. केपी सिंहलाई राजीनामा गराउन डा. सिंह निकटका प्राध्यापकहरुमार्फत पहल गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहलाई हटाएर वरिष्ठताका आधारमा डा. जगदिशप्रसाद अग्रवाललाई डिन नियुक्त गर्न निर्देशन दिएको स्रोतको दावी छ । स्वास्थ्य मन्त्री गगन थापाले आइतवारको मन्त्रीपरिषद् बैठकमा डिन सिंहलाई राजीनामा गराउन र डा. केसीको जीवन रक्षा गर्न माग पुरा गर्न आग्रह गरेपछि प्रधानमन्त्री दाहाललाई नैतिक दबाब परेको थियो । सम्भवतः मंगलवार सम्म डा. सिंहले राजिनामा दिने सम्भावना रहेको पनि स्रोतले बताएको छ । डा. केसीको माग अनुसार त्रिविका उपकुलपति तिर्थ खनियालाई राजीनामा माग्ने वा वर्खाष्त गर्ने भन्ने विषयमा भने आजै राती डा. केसी प्रतिनिधिसँग हुने वार्तामा छलफल हुने छ ।