सरकार र केसी प्रतिनिधिबीचको वार्ता निष्कर्षविहिन
काठमाण्डौं १२, मंसिर । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको बार्ता विना निष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा आज दिनभर बसेको वार्ता विना निष्कर्ष भर्खरै टुंगिएको हो । सरकारी बार्ताटोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठका अनुसार बार्ता फेरी बस्ने गरी टुंगिएको छ ।
वार्ताका क्रममा अरु विषयमा सहमति नजिक रहे पनि त्रिवि उपकुलपति र आइओएमको डीनलाई बर्खास्ती गर्ने विषयमा भने कुरा अघि बढेको छैन् । ‘यी दुई विषय अलि गम्भीर विषय हो । यसमा थप छलफलको आवश्यकता छ । यसमा आज छलफल भएन । अर्को वार्तामा यस विषयमा पनि छलफल हुनेछ । हामीले उहाँहरुलाई डा. केसीसंग यी दुई मागका विषयमा थप बुझेर आउनु भनेका छौं ।’ सचिव श्रेष्ठले भने । डा. केसीका प्रतिनिधिले वार्ता निष्कर्षविहीन भएकाले अनसन जारी रहने जनाएका छन् ।
बार्तामा सरकारका तर्फबाट श्रेष्ठ सहित स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र डा केसीका तर्फबाट डा वाईपी सिंहको नेतृत्वमा अर्को चिकित्सकहरुको टोली थियो ।