जाडोमा छाला कसरी जोगाउने ? 



Download our app to get more features

 मौसम परीवर्तनसँगै वातावरणीय तापक्रम पनि कम हुँदै जान्छ । हामी संसारको जुनसुकै ठाँउमा बसे पनि मौसम परीवर्तनको पहिलो असर हाम्रो छालामा देखिन्छ । छालामा पनि  तापक्रम परीवर्तनको असर देखिने गर्दछ । जाडोयाममा चिल्लो पदार्थ उत्पादन गर्ने ग्रन्थीले कम मात्रामा चिल्लो उत्पादन गर्छ जसले गर्दा शरीर सुख्खा हुने हुन्छ । 

 गर्मीको तुलनामा जाडो मौसममा छाला रोग लाग्ने सम्भावना पनि बढी हुन्छ । चिसोमा छालामा देखिने समस्या मध्ये बढी नै सुख्खा हुनु मुख्य समस्या हो । प्रायः यसको प्रभाव बालबालिका  र वृद्धवृद्धामा देखिन्छ । साथै थाइराइड, मधुमेह जस्ता समस्या भएका बिरामीलई पनि यसले बढी नै प्रभाव पारेको हुन्छ ।

जाडो मौसममा चिल्लो छाला भएकाहरुमा पनि सुख्खापन बढ्छ भने सुख्खा छाला भएकाहरुलाई झनै सताउँछ । छाला सुख्खा भएमा चिलाउने र कन्याउँदा छाला बाक्लो भएर एक्जिमा हुनु आमसमस्याको रुपमा रहेको छ ।

जाडो मौसममा अनुहारमा पनि धेरै नै सुख्खा हुनेगर्छ । हामीले अनुहारमा केही पनि नलगाउने अर्थात नढाक्ने हुँदा सिधै यसको असर अनुहारको छालामा पर्न जान्छ । तापक्रम कम हुँदा चिल्लो आइरहेको अनुहारमा पनि चिल्लोको मात्रा कम हुँदै जान्छ ।

यस्तै, जाडो मौसममा औंला सुन्निने र रातो हुने समस्या प्राय महिलामा देखिने प्रमुख समस्या हो । यसलाई ‘चिल ब्लेन’ भनिन्छ । १५ डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम हुँदा यस्तो समस्या देखिन्छ । जाडोमा देखिने यो समस्या गर्मी शुरू भएसँगै आफैं निको भएर जान्छ ।

यसैगरी जाडोमा उलनका थर्मकोट तथा स्वीटरहरु शरीरमा सिधै लगाउने गरिन्छ । यसले इरिटेसन बढाउनुको साथै शरीर सुख्खा हुने, एलर्जी हुने समस्या बढी हुन्छ । त्यसैले सुतीको कपडा लगाएर मात्र बाहिरबाट ऊनी कपडा लगाउनु राम्रो मानिन्छ ।

जाडो समयमा ‘इक्थाइररोेसीस’ समस्या भएका व्यक्तिलाई पनि धेरै समस्या दिनसक्छ । यो एक प्रकारको वंशाणुगत रोग हो । शरीर धेरै सुख्खा हुने हुँदा माछाको जस्तो कत्ला भएर आउने हुन्छ ।  

जाडोयाममा घाम नताप्ने कुरै भएन ।  तर घामले पनि  नकारात्मक असर पार्नसक्छ । जाडो समयमा घाममा बढी बस्ने हुँदा घामको एलर्जी हुनुको साथै चायाँ र पोतो जाडो समयमा झनै बढेर जाने हुन्छ ।

 

बच्ने उपाय
जाडोको एलर्जीलाई तीन प्रमुख तत्वले धेरै असर गर्छन् । जस्तै चिसो पानी, चिसो हावा र कम तापक्रम । तीनवटै कारणले छालामा विभिन्न रोग आउन सक्छ । यस्ता जोखिमबाट बच्न सक्नु नै रोकथामको प्रमुख उपाय हो ।

एलर्जी, रातो रातो डावर आउने समस्या हुने हुनाले व्यक्तिहरुले उलनको कपडा सिधै शरीरमा लगाउनु हुँदैन । भित्रबाट कटन वा सुतीको कपडा लगाएर मात्रै उलनको कपडा लगाउनु राम्रो हुन्छ । एकदिन बिराएर नियमित रुपमा नुहाउने, मनतातो पानीले नुहाउने, नुहाइसकेपछि लोसन तथा मोइश्चर लगाउने, सकिन्छ भने हप्तामा कम्तिमा चार दिन पसिना निकाल्ने काम गर्ने । 

चिसो पानीले अनुहार धँुदा कक्रक्क हुने हँुदा मन तातो पानीले धुने, धुना साथ मोइश्चर लगाउने गर्नु राम्रो हुन्छ । मोइश्चर लगाउँदा डण्डीफोर आउने व्यक्तिले एक्निया मोइश्चर लगाउनु पर्छ ।

यसको साथै चिसोबाट बच्नको लागि तातो कपडा लगाउने, चिल ब्लेनबाट बच्नको लागि पञ्जा तथा मोजाको प्रयोग गर्नुको साथै हट वाटर व्यागले सेक्ने गर्नुपर्छ । चिसो पानीको प्रयोग भन्दा मन तातो पानीको प्रयोग गर्नाले पनि यसबाट बच्न सकिन्छ ।

इक्थारोसिस तथा खुट्टा फुट्ने समस्या भएका व्यक्तिले यूरिया मिसिएको मोइश्चराइज क्रिमहरुको प्रयोग गर्नु पर्छ । यस्ता व्यक्तिले मनतातो पानीमा हल्का नुन राखेर १० मिनेट जती चोबेर राख्ने र खस्रो ढुङ्गाले रगेडेर सफा गरी मोइश्चर लगाउने र अन्तमा मोजा लगाएर सुत्ने गर्नु पर्छ । 

डा. खतिवडासँग बासुदेव न्यौपानेले गरेको कुराकानीमा आधारीत

Last modified on 2017-07-31 16:25:13

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts