स्वास्थ्यमन्त्री थापाको पहिलो तलब कान्तिको क्यान्सर उपचार कोषलाई
काठमाण्डौ, ७ मसिंर। स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलव कान्ति अस्पतालमा रहेको अंकोलोजी कोष (क्यान्सर उपचार कोष)लाई दिएका छन् ।
मन्त्री भएपछि अस्पतालहरुको निरिक्षण गर्ने क्रममा सवै भन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने घोषणा गरेअनुरुप तलव सहयोग गरेका हुन् । घोषणा बमोजिम मन्त्री थापाले सोमबार रकम हस्तान्तरण गर्नु भएको मन्त्री थापाको निजि सचिवालयले जनाएको छ ।
अस्पतालमा क्यान्सर पीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको अंकोलोजी कोषलाई आर्थिक अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चीत हुन नपरोस् भन्दै थापाले सबैलाई कोषमा रकम सहयोग गर्न अपिल पनि गरेका छन् । अस्पतालले २०७२ सालमा पुराना ५८४ जना र नयाँ ४५ जनाको क्यान्सरउपचार गरेको अस्पतालका निर्देशक अजित रायमाझीले जानकारी दिए । कान्ति बालअस्पतालको अंकोलोजी वार्डमा २६ शैया रहेको छ । सन् १९९७ मा बेलायती नागरिकहरुले सुरु गरिदिएको कोषमा अहिले चार करोड रुपैयाँ रहेको रायमाझीले बताए ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।