१२ बुँदै घोषणापत्र जारी गर्दै कान विशेषज्ञहरुको सम्मेलन सकियो
काठमाण्डौं, ४ मंसिर । १२ बुँदे घोषणापत्र जारी गर्दै ‘समुदायमा कान एवं सुनाइको हेरचाह’ नामक पहिलो सम्मेलन राजधानीमा सम्पन्न भएको छ ।
राजधानीको बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा बिहीबार र शुक्रबार चलेको सम्मेलनमा समुदायमा कानको हेरचाह र उपचारको गुणस्तर र प्रभावकारिताका विषयमा व्यापक विचार विमर्श भएको थियो । स्वास्थ्य मन्त्रालयको समेत सहभागीता रहेको सम्मेलन ,इम्प्याक्ट नेपालको तत्परता ,कृश्चियन ब्लाइन्डमिसन (सिबिएम)को प्रायोजनमा आयोजना भएको हो । कार्यक्रममा राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका विशेषज्ञ चिकित्सक लगायत एक सय २० जनाको सहभागिता रहेको थियो ।
सम्मेलनमा पाँच जनाको विषयगत अभिभाषण एवं १५ जनाले विभिन्न कार्यपत्रहरु प्रस्तुत गरेको सम्मेलन आयोजक समितिका सचिवप्रा.डा. ढुण्डी पौडेलले जानकारी दिए ।
अधिबेशनमा प्रस्तुत सुझावहरुलाई समेटी १२ बुंदे घोषणापत्र जारी गरिएको छ जसको कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले पहल गर्ने कार्यक्रमको उद्घाटन गर्न पुगेका स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रतिवद्धता व्यक्त गरेका छन् ।
बहिरोपनलाई नेपालको मुख्य स्वास्थ्य समस्यामध्ये बुझिन्छ । १६ प्रतिशत नेपालीहरु कुनै न कुनै स्तर या प्रकारको बहिरोपनबाट पीडित रहेको अनुमान गरिन्छ । नेपालमा मुख्यतया संक्रमणलाइ बहिरोपनको कारकको रुपमा लिइन्छ । तर विज्ञान र प्रविधिको बिकाससँगै अनेक प्रकारका विद्युतीय उपकरण, मोबाइल, टेलीफोनको बढ्दो प्रयोग, सवारी साधन लगायत औद्योगिकिकरणका कारणले शृजितध्वनि प्रदुषणले पनि श्रवण शक्तिमा ह्रास ल्याउन सक्दछ । विभिन्न प्रकारका रसायन या औषधिको बढ्दो प्रयोगबाट पनि श्रवण शक्तिमा ह्रास आउन सक्ने चिकित्सकहरु बताउँछन् ।
सामान्य आधारभुत कानको हेरचाह या समयमै कान सम्बन्धी रोगको उपचार र सावधानीबाट बहिरोपनबाट बच्न सकिन्छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>