जिकाको आपतकाल सकिएको घोषणा

What's This?


Download our app to get more features

बीबीसी, ४ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसले अन्तर्राष्ट्रिय रुपमा निम्त्याएको जनस्वास्थ्यको आपतकाल सकिएको घोषणा गरेको छ। तर जिका भाइरसको खतरा भने बाँकी नै रहिरहने भन्दै सतर्कता अपनाउनुपर्ने डब्लूएचओले जनाएको छ।

तर उक्त घोषणा हुँदा हुँदै पनि ब्रजिलको स्वास्थ्य मन्त्रालयले चाहिँ जन्मन बाँकी रहेकाहरुमा गम्भीर असर देखिन सक्ने भन्दै जिकालाई राष्ट्रिय संकटको रुपमा नै लिइरहने बताएको छ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्बन्धी निकाय विश्व स्वास्थ्य संगठनले आफ्नो १९ महिने आपतकालको घोषणाको अन्त्य भएको बताएको हो। डब्लूएचओका प्रवक्ता डेनियल एप्सटाइनले बीबीसीसँग बोल्दै जिका भाइरसको जोखिम करिब ७५ वटा देशमा रहेको बताएका छन्। उनले भने, “जिकाविरुद्ध अपनाउनुपर्ने उपायहरु डब्लूएचओ, प्रभावित देश र अन्य साझेदारहरुले मिलेर व्यवस्थापन गर्नुपर्छ किनभने यो अझै पनि जनस्वास्थ्यमा ठूलो खतराको रुपमा कायमै छ। र, योसँग जुध्न निरन्तरका गहन कदम आवश्यक छन्।”

जन्मँदै टाउको सानो हुने र मस्तिष्क विकास नहुने‍ समस्या देखिएका शिशुहरु करिब ३० वटा देशमा देखिएका छन्। ब्रजिलमा मात्रै २१ सय भन्दा बढी विरामीहरुमा त्यस्तो समस्या देखिएको खबरहरु आएको डब्लूएचओले बताएको छ।

माइक्रोसेफाली भनिने स्नायु प्रणालीसम्बन्धी समस्या ब्रजिलमा सबैभन्दा बढी देखिएको थियो। जिका भाइरसको संक्रमण धेरैजसो लामखुट्टेको टोकाइबाट सर्ने भए पनि यो यौनसम्पर्कबाट पनि सर्नसक्छ। जिका भाइरसका कारण केही मानिसको मृत्यु भएको छ। संक्रमण भएका पाँचमध्ये एकजनामा मात्रै त्यसको लक्षण देखिने ठानिएको छ। त्यस्तो लक्षण देखिएकाहरुलाई ज्वरो आउने, जोर्नीमा दुख्ने र छालामा राता दागहरु देखिने गर्छ।

जिका पहिलोपटक सन् १९४७ मा युगाण्डामा बाँदरहरुमा पहिचान गरिएको थियो। तर मानवमा चाहिँ पहिलोपटक सन् १९५४ मा नाइजेरियामा देखिएको हो। त्यसपछि अफ्रिका, उत्तरपूर्वी एसिया र प्रशान्त टापुमा प्रकोपको रुपमा देखापरेको हो।

फाईल तस्वीर /एजेन्सी

Last modified on 2017-08-03 12:40:26

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts