महिला स्वास्थ्यसम्वन्धि सचेतनामूलक दौडको तयारी
काठमाण्डौं ३, मंसिर । भारतीय सुपरमोडल मिलिन्द सोमनको संयोजनमा महिला स्वास्थ्यसम्वन्धि सचेतानामूलक महिला दौड महाशिवरात्रीका दिन काठमाण्डौंमा हुने भएको छ । ‘पिंकाथन’ नामक महिला स्वास्थ्यसम्वन्धि सचेतनामूलक महिला दौडबारे पत्रकार सम्मेलन गरी जानकारी गराइयो ।
सन् २०१२ देखि भारतका विभिन्न सहरमा हुँदै आएको ‘पिंकाथन’ को पहिलो अन्तराष्ट्रिय गन्तव्यका रूपमा काठमाडौं परेको हो । पत्रकार सम्मेलनमा सोमनले सधैं परिवार र आफन्तको हेरचाहमा केन्द्रित हुने महिलालाई आफ्नै स्वास्थ्यबारे जागरुक गराउन ‘पिंकाथन’ आयोजना गर्दै आएको जानकारी दिए । ‘महिला धेरै जिम्मेवारीले घेरिएका हुन्छन् । तर उनीहरू आफू र आफ्नो स्वास्थ्यबारे ध्यान दिनचाहिँ चुकिरहेका हुन्छन्’ उनले भने, ‘जब महिला स्वास्थ्य के हो बुझ्छन् तब पूरै परिवार, अनि समाजमा त्यसको बृहत् असर पर्छ ।’ सोमनले काठमाडौं पिंकाथनमा धेरै महिला सहभागी हुने अपेक्षा व्यक्त गरे । उनका अनुसार पहिलोपल्टको पिंकाथनमा २ हजार महिला सहभागी भएकामा गत वर्ष त्यो संख्या ७५ हजार पुगेको थियो । अहिलेसम्म भारतका १२ सहरमा पिंकाथन आयोजना भइसकेको छ ।
पिंकाथनमा ३, ५, १० र २१ किलोमिटर दूरीका दौड हुनेछन् । यी दौडको अगुवाइ गर्ने क्रममा सोनम आफूचाहिँ खाली खुट्टा दौडन्छन् । उनले पिंकाथनमा १५ घण्टा १९ मिनेटको कीर्तिमान बनाइसकेका छन् । भारतको मोडलिङ दुनियाँमा अहिलेसम्मकै सबैभन्दा सफल पुरुषमध्ये गनिने सोमन व्यावसायिक पौडीबाजसमेत हुन् ।