दुर्व्यसन विश्वको मुख्य ‘दीर्घरोग’
एजेन्सी, ३ कात्तिक ।अमेरिकाका जनस्वास्थ्य विभागका प्रमुखले लागूपदार्थ र मदिरा दुर्व्यसनकाविरुद्ध तुरुन्तै कदम चाल्न आह्वान गरेका छन् र त्यसलाई आजको समयको सबैभन्दा जरुरी जनस्वास्थ्य संकट मध्ये एक भनेका छन्।
त्यस्तो धारणाका कारण दुर्व्यसनीहरुले उपचार खोज्ने सम्भावना कम हुने गरेको भन्दै सर्जन जनरल विवेक मुर्तिले दुर्व्यसनलाई चारित्रिक खराबीका रुपमा नभएर दीर्घरोगका रुपमा हेरिनुपर्ने बताएका छन्।
त्यस्तो प्रकारको पहिलो प्रतिवेदनमा विवेक मुर्तिले दुर्व्यसनले दसौं लाख अमेरिकीहरुलाई असर पारिरहेको बताएका छन्। त्यसमाथि प्रतिवर्ष झण्डै ५ खर्ब डलर खर्च भएतापनि प्रत्येक १० जना मध्ये एकजनाले मात्रै उपचार पाईरहेको बताएका छन्। त्यो मुद्दालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुनुपर्नेमा जोड दिंदै दुर्व्यसनलाई खराब चरित्रका रुपमा नलिएर क्यान्सर वा मधुमेह जस्तै रोगका रुपमा लिईनुपर्ने मुर्तिले बताए।
अमेरिकामा दुर्व्ससनको स्थिति सम्बन्धी एउटा प्रतिवेदनमा मुर्तिले २ करोड मानिस दुर्व्यसनी भएको बताएका छन् जुन क्यान्सरका बिरामीको भन्दा ठुलो संख्या हो।
प्रतिवेदनमा मुर्तिले लामो समयसम्म धेरै मानिसले दुर्व्यसनलाई नैतिक असफलताका रुपमा हेरेको बताएका छन्। त्यस्तो नकारात्मक धारणाले गर्दा धेरै मानिसलाई लज्जाबोध हुने गरेको र त्यसका कारण उनीहरुले दुर्व्यसनको उपचार खोज्ने सम्भावना कम भएको उनले बताएका छन्। दुर्व्यसन चरित्रको खराबी नभएर दीर्घरोग भएको भन्दै उनले हृदयरोग, मधुमेह र क्यान्सरलाई जुन क्षमता र सहानुभूतिका साथ उपचार गरिन्छ, दुर्व्यसनका लागि पनि त्यस्तै तरीका अपनाउनुपर्ने बताए।
हरेक दिन अफिम वा अफिम जस्ता पदार्थको अधिक मात्रा सेवनका कारण औसतमा ७८ जना अमेरिकीहरुको ज्यान जाने गरेको प्रतिवेदनले बताएको छ।
साथै करीब १ करोड २५ लाख अमेरिकीहरु औषधीका रुपमा प्रयोग हुने पीडा कम गर्ने औषधीको लतमा लागेको पनि बताईएको छ। एपी समाचार संस्थाले उद्धृत गरेको एउटा अन्तर्वार्तामा मुर्तिले भनेका छनः मानिसहरुसंग पर्याप्त बीमा छ भन्ने सुनिश्चित गर्नु महत्वपुर्ण हुन्छ। सन् २०१४ मा अमेरिकाको जनस्वास्थ्य विभागको प्रमुख बन्नु अघि मुर्तिले सस्तो स्वास्थ्य सेवाका लागि दवाव दिने एउटा समूह स्थापना गरेका थिए।
चुनावी अभियानका ट्रम्पले ‘ओबामाकेयर’ भनिने किफायती स्वास्थ्य सेवा ऐनलाई रद्द गर्ने वाचा गरेका थिए। तर चुनाव जितिसकेपछि भने उनले त्यो ऐनका केही महत्वपुर्ण बुँदाहरु परिवर्तन नगर्ने बारे विचार गर्ने बताएका छन्। डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि २ वर्षसम्म मुर्ति जनस्वास्थ्य सेवाका प्रमुखको पदमा रहनेछन्।
-विविसि
Reporter
View Other Stories by Author >>