अनसनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै
काठमाण्डौं ३, मंसिर । पछिल्लो ६ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । वरिष्ठता आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्ति, चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर कात्तिक २८ गतेदेखि डा. केसी आमरण अनशनमा बसेका हुन् ।
विहिवारसम्म सामान्य स्लाइनसमेत नलिएका केसीको शुक्रवारदेखि छातीको दुखाइ, मुटुको चालमा गडबडी, मांशपेशी दुखाइ बढ्दै गएको छ । सहयोगी चिकित्सकले डा. केसीको स्वास्थ्य जाँच गरेका हुन् । उनीहरुले पिसाबमा किटोन बढी देखिएको जनाएका छन् । शरीरमा खानाको अभाव भए किटोन बढी देखिन्छ । ’अक्सिजन कमी, मुटुको चाल बढ्ने, मांशपेशी तथा छाती दुख्नेलगायत समस्या सुरु भइसकेको स्वास्थ्य जाँच गरेका चिकित्सकले बताएका छन् ।
चिकित्सा क्षेत्रमा सुधार माग राखेर १० औं पटकसम्म अनशन बस्दा पनि सरकार पक्षबाट माग सम्बोधनमा कुनै चासो दिएको छैन । सरकारले केसीको स्वास्थ्य र मागप्रति कुनै चासो नदेखाएको भन्दै चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीले शनिबारदेखि दबाब बढाउने बताएका छन् । उनीहरूले शनिबार शिक्षण अस्पतालदेखि बालुवाटारसम्म ¥याली गरेर धर्ना दिने कार्यक्रम तय गरेका छन् । केसीका मागप्रति समर्थन जनाउँदै अस्पतालका आवासीय चिकित्सकले पनि मंगलबारदेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका छन् ।