आगोले पोलेमा प्राथमिक उपचार कसरी गर्ने ?
आगो मानव जीवनका लागि अनिवार्य छ । हाम्रो हरेकको दैनिकीमा आगोको महत्वपूर्ण भूमिका हुन्छ । त्यहि भएर पनि हाम्रो दैनिक परिवेशमा आगोले पोलेको घट्नाहरु धेरै देखिन्छन् ।
आगोले पोल्नु, धुवाले बन्द कोठामा निसासिनु, विजुली (करेन्ट) बाट जल्नु आदि हाम्रो लागि प्राणघातक बनिदिन सक्छ । कतिपय अवस्थामा यस्ता घटनाहरुले हामीलाई शारीरिक रुपमा नै अशक्त समेत बनाइदिन सक्छ । त्यसैले आगोले पोलेको बेलामा वा जल्दै गरेको मानिसलाई अस्पताल लानु अघि प्रारम्भिक प्राथमिक उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा सबैले जानकारी राख्नु जरुरी छ । त्यसको लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।
१. यदि कोहि मानिस आगोले जल्दै गरेको छ भने, उसलाई बचाउन जाने मानिसले प्रथमतः आफू स्वयंको सुरक्षाको ख्याल गर्नुपर्छ । आवश्यक परेमा अन्य सहयोगी वा तालिमप्राप्त व्यक्तिको साथ खोज्नुपर्छ ।
२. त्यसपछि जलिरहेको मानिसलाई आगोको स्रोतबाट हटाउनुपर्दछ र जलिरहेको भए त्यसलाई रोक्नुपर्दछ । यसको निम्ति उक्त मानिसलाई रोक्ने, भुइँमा सुताउने र गुडुल्काउने विधि ( Stop, drop and roll technique) अपनाउन सकिन्छ । यो विधी गाह्रो भए विकल्पमा कम्बल वा अरु कुनै बस्तुले छोपेर पनि बलिरहेको आगो निभाउन सकिन्छ ।
३.कुनै पनि ठुलो दुर्घटनामा परेको मानिसको अवस्था चाडो थाहा पाउन अस्पतालमा स्वास्थ्यकर्मीले सास फेर्ने नलिको अवस्था, स्वासप्रस्वास, र रक्तसञ्चार (Airway, breathing, circulation ) को जाच गरेर थाहा पाउँछन् ।
यदि अस्पतालभन्दा टाढा रहेको स्थितीमा जो कोहीले पनि यी तीन प्रक्रियाको जाच विरामीको मुख वा घाटीमा केही अड्केको छ वा नाइ, विरामीले सास फेरिरहेको छ वा नाइ र नाडीको गति (उगकिभ) ठिक छ कि नाइ भनेर जाँच गरेर थाहा पाउन सकिन्छ । तर कतिपय स्थितिमा यदि विरामी अचेत अवस्थामा रहेमा यस्ता दुर्घटना वा भवितव्यमा परेका विरामीहरुलाई सकेसम्म ढिला नगरी अस्पताल लान बुद्धिमानी हुन्छ ।
४. आगोले पोलेको सामान्य घाउ छ भने त्यसलाई धारामा बगीरहेको चिसो पानीमा ५ देखि १० मिनेटसम्म राख्दा धेरै फाइदाजनक हुन्छ । यसो गर्दा घाउको दुखाइ कम हुन्छ र छाला र भित्री भागलाई बढी बिग्रनबाट बचाउछ । यसो गर्दा साह्रै चिसो वा बरफ भने प्रयोग गर्नु हुदैन ।
५. शरीरमा लगाएको कपडा जलेको खण्डमा त्यसलाई विरामीबाट निकाली पोलेको भागलाई सफा कपडाले ढाक्नुपर्दछ ।
६. विरामीलाई अस्पताल लैजादा यदि स्वासप्रश्वास गर्ने नलि जलेको छ वा धुवाँ जम्मा भएको छ भने, टाउको ठाडो राखेर वा बसाएर अस्पताल लाँदा असर कम हुन्छ । साथै खुट्टा पोलेको विरामीको खण्डमा खुट्टालाई शरीरभन्दा माथि उठाएर राखेमा सुन्निने समस्या कम हुन्छ ।
७. जति सक्दो चाडो अस्पताल पुर्याएर चिकित्सकलाई सम्पुर्ण घटनाक्रम जस्तैः जल्नुको कारण, समय, धुवाँ भएको कोठामा बन्द भएको नभएको यथार्थ जानकारी दिनुपर्छ ।
८. घटना भएपछीको उपचारभन्दा घटना हुन नै नदिनु बुद्दीमानी हुन्छ । त्यसैले आगो, विजुली आदि चिजहरुको प्रयोग गर्दा विषेश ध्यान पुराउनुपर्छ । सकेसम्म त्यस्ता खतरापुर्ण वस्तुहरु बच्चाहरूको पहुँचबाट टाढा राख्नुपर्छ ।
Reporter
View Other Stories by Author >>