मिर्गौला खराब भएका भूपिनलाई बचाउन अभियान
झापा, २ मङ्सिर । दुवै मिर्गौला खराब भएका झापा शनिअर्जुन–२ का ३६ वर्षीय भूपिन राईको उपचारमा आर्थिक अभाव भएको छ । जग्गाको नाममा एक धुर घडेरी पनि नभएका र पेन्टिङ मजदुरी गरी परिवारको पालनपोषण गर्दै आएका भूपिनको दुवै मृर्गौला ड्यामेज भएपछि उपचारमा आर्थिक अभाव भएको हो ।
तीन महिनाअघि मात्र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भूपिनका दुवै मिर्गौला खराब भएको उपचारमा संलग्न चिकित्सकले बताएका थिए । उनलाई चिकित्सकले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको दाजु दिपीन राईले बताए ।
‘भाइ भूपिनको उपचारमा हालसम्ममा पारिवारिक सहयोगमा ६ लाख रुपैयाँभन्दा बढी खर्च गरिसक्यौँ’, राई भन्छन् ‘डाक्टरले मिर्गौला प्रत्यारोपण गर्न १८ देखि २० लाख रुपैयाँ लाग्ने बताएपछि अब हामी आफैँले उपचार गर्न नसक्ने अवस्थामा पुग्यौँ ।’
भूपिनलाई एउटा मिर्गौला उनकै बुबा धनबहादुर राईले दिने भनेपनि प्रत्यारोपणका लागि खर्च नहुँदा समस्या भएको दाजु दिपीन राईले बताए । उनले भाइलाई बचाइदिनका लागि सम्पूर्ण सङ्घसंस्था, सरकारी तथा गैरसरकारी संस्थासँग सहयोगको अपिल गरेका छन् ।
उनले सहयोग गर्न चाहनुहुने महानुभावलाई प्रभु बैंकको खाता नं ०१५११६००८३५१७८०००००१ मा र विदेशमा रहेकाले स्विफ्ट कोड ‘पिआरभियुएनपिकेए’ समेत उल्लेख गरेर सहयोग जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बताए । रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>