सूर्तिजन्य पदार्थमा ९० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने पहिलो मुलुक बन्यो नेपाल
काठमाण्डौं, २६ कात्तिक । चुरोटको बट्टा तथा सूर्तिजन्य पदार्थमा ९० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने मुलुकको सूचिमा नेपाल पहिलो स्थानमा रहेको छ ।
क्यानेडियन क्यान्सर सोसाइटीले पछिल्लो दुई वर्षको अवधिलाई आधार मानेर गरेको अनुसन्धानका क्रममा यस तथ्य जानकारी गराइएको हो ।
भारतको दिल्लीमा भइरहेको विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सनका सरोकारवालाहरुको सातौं कन्फ्रेन्समा सोसाइटीले प्रतिवेदन जारी गरेको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले आयोजना गरेको पत्रकार सम्मलेनमा जानकारी गराइएको हो ।
सूर्ति नियन्त्रणका लागि अन्तराष्ट्रिय अभिसन्धी (एफसिटिसी)को अनुमोदन गर्ने १ सय ८१ राष्ट्रहरुको सम्मेलन भारतको नोइडामा कात्तिक २२ गते सुरु भई शनिवार सकिँदैछ ।
सन् २००१ देखि कन्फ्रेन्समा नियमित भाग लिने भएपनि यसपटक भने नेपाल सरकारका तर्फबाट कोही पनि सहभागी नभएको केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जानकारी दिए ।
‘कन्फेन्समा जानु नेपाल सरकारको दायित्व हो’ मुल्मीले भने ‘कन्फ्रेन्सले पारित गरेको प्रस्ताव अब नेपालले कसरी लागू गर्छ ? नेपालको यसमा सकृय सहभागिता हुन जरुरी थियो ।’ नेपाल सरकारको तर्फबाट सम्मेलनमा सहभागिता नरहेकोमा विश्व सम्मेलनमा विभिन्न टिका टिप्पणी भएको समेत मुल्मीले जानकारी दिए ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ पछि २०७२ जेठ १ गते नयाँ निर्देशिका जारी गर्दै सूर्तीजन्य पदार्थको बट्टा, प्याकेटको बाहिरी कुल भागमा ९० प्रतिशत चेतावनीमुलक सन्देश र घातक रंगिन चित्र छाप्न निर्देशन दिएको थियो । यसैलाई आधार मानेर नेपाललाई पहिलो स्थानमा राखेको छ । तर हालसम्म पनि नेपालका सुर्ती उत्पादक कम्पनीले सो निर्देशिका पालनाका लागि अटेर गरी ७५ प्रतिशत मात्र चित्र छाप्दै आएका छन् । विदेशी चुरोटहरुमा भने ९० प्रतिशत चित्र सहित नेपाल भित्रने गरेको छ ।
क्यानेडियन क्यान्सर सोसाइटिले तयार पारेको प्रतिवेदनमा एक सय राष्ट्रले चेतावनीमूलक सन्देश राख्न बाँकी रहेको र एक सय पाँच राष्ट्रले सन्देश राखिसकेको बताएको छ ।
प्रतिवेदनमा भनौटा दोस्रो स्थानमा रहेको छ भने भारत र थाइल्याण्ड तेस्रो स्थानमा रहेका छन् ।
सम्मेलनमा नेपाल सरकारको तर्फबाट सहभागिता नभएतापनि नागरिक समाजको तर्फबाट शान्तलाल मुल्मी र डा. प्रकाश रेग्मीको सहभागिता रहेको थियो ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>