पहिलो पटक नयाँ मूत्रथैली बनाउन सफल



Download our app to get more features

मोरङ, २५ कात्तिक । विराटनगर–३ स्थित नेसनल किड्नी अस्पताल पूर्वाञ्चलमै पहिलो पटक बिरामीको ट्युमर भएको मूत्रथैली निकालेर नयाँ मूत्रथैली बनाउन सफल भएको छ । 

सो अस्पतालले विराटनगरमा पत्रकार सम्मेलन गरी सप्तरी जिल्ला हनुमाननगर योगिनीमाई –४ का ४४ वर्षीय सुरेन्द्र मिश्रको मूत्रथैलीमा भएको ट्युमर निकालेर नयाँ मूत्रथैली बनाउन सफल भएको जानकारी गराएको हो । अस्पतालका सञ्चालक डा सन्तोष झाको नेतृत्वमा डा अभिषेक चौधरी, उज्ज्वल झा र क्षितिज गिरीको टोलीले नयाँ मूत्रथैली बनाउन सफल भएको अस्पतालका सञ्चालक डा सन्तोषले जानकारी दिए। 

पाँच वर्षअघि मूत्रबाट रगत आएपछि उपचारका लागि विभिन्न ठाउँमा दौडिरहेका मिश्र धरान हुँदै भरतपुरसम्म उपचार गराउँदा पनि ठीक भएका थिएनन्। आर्थिक अवस्था कमजोर भएका उनको उपचारको दौरानमा अत्यधिक रकम खर्च समेत भइसकेको छ । उपचारपछि आफूले नयाँ जीवन पाएको बताउँदै उनले भने, ‘डाक्टरहरुले मलाई बचाउनुभयो, मैले नयाँ जीवन पाएको अनुभूति गरेको छु ।’

अस्पतालबाट नेपालकै पहिलो ल्याप्रोस्कोपिक पायलो प्लास्टिक सर्जरी, तीन वर्षको बच्चाको मिर्गौलामा भएको १६ एमएमको पत्थरीको शल्यक्रिया, जन्मजात एकै ठाउँ मिर्गौला भएका व्यक्तिको शल्यक्रिया लगायत विविध समस्याको सफल शल्यक्रिया गरिँदै आएको जनाइएको छ । 

अस्पतालले प्रोस्टेट, मिर्गौला मूत्रनली, मूत्रथैली तथा लिङ्गका जटिल समस्याको सफलतापूर्वक सफल उपचार गर्दै आएको अस्पतालका निर्देशक भोगेन्द्र खड्काले जानकारी दिए। रासस 
 

Last modified on 2017-08-07 15:59:37

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts