सरकारी अस्पताललाई औषधि पसल खोल्न सिड मनी
काठमाडौं, २५ कात्तिक । सरकारले सरकारी अस्पतालमा आफ्नै औषधि पसल खोल्न २२ अस्पताललाई सिड मनी पठाएको छ ।
स्वास्थ्य मन्त्रालयले दुई क्षेत्रीय, तीन उपक्षेत्रीय १० अञ्चल र सात केन्द्रीय अस्पताललाई चार करोड २५ लाख रुपैयाँ बराबरको रकम पठाएको हो ।
मन्त्रालयले कान्तिबाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई आफ्नै फार्मेसी खोल्न ३० लाख रुपैयाँ सिड मनी उपलब्ध गराएको छ भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले २५ लाख रुपैयाँ पठाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनाअघि मन्त्रालयका सचिवलाई सरकारी अस्पतालहरुले आफ्नै औषधि पसल सञ्चालन गर्न पहल थाल्न निर्देशन दिएका थिए । सरकारले सबै सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने भन्दै ‘अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२’ पनि ल्याएको छ ।