सेवा विस्तारका लागि कान्तिपुर जनरल अस्पतालले गर्यो अन्तराष्ट्रिय साझेदारी
काठमाण्डौं, २३ कात्तिक । राजधानीको बसुन्धरास्थित कान्तिपुर डेन्टर कलेज तथा जनरल अस्पतालले सेवा र प्रविधिलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन ताइवानको टुङ्गस् ताइचुङ्ग मेट्रो हर्बो हस्पिटल, ताइवानसँग साझेदारी गरेको छ ।
उच्च स्तरीय स्वास्थ्य सेवा दिन साझेदारीका रुपमा टुङ्गस् ताइचुङ्ग मेट्रोहर्बो हस्पिटल ताइवानका अध्यक्ष डा. जै नैन तुङ्ग तथा कान्तिपुर डेन्टल कलेज तथा जनरल अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले केहीदिन अघि हस्ताक्षर गरेको अस्पतालले आज आयोजना गरेको कार्यक्रममा जानकारी गराइएको हो ।
स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने श्रोत साधनहरुको कमी महसुस हुन नदिनका लागि अस्पतालले अन्तर्राष्ट्रिय साझेदारी गरेको बताएको छ । साझेदारीमा दुई अस्पतालबीच श्रोत साधन तथा क्षमता अभिवृद्धिमा तालिम आदानप्रदान गर्न प्रत्येक वर्ष एकआपसको अस्पताल भ्रमण एवं अध्ययन गर्ने, नेपालका विशेषज्ञलाई ताइवानका विशेषज्ञहरुबाट तालिम गराउने, उपकरणको वृद्धि गर्न प्राविधिक सहयोग आदानप्रदान गर्ने लगायत विषय उल्लेख गरिएको छ ।
साथै, अस्पतालले मुख क्यान्सर परीक्षणको अभियान चलाउने भएको छ । यसमा पनि दुई अस्पतालबीच सहकार्य हुने अस्पतालका अध्यक्ष डा. श्रेष्ठले जानकारी दिए । तुङ्स अस्पताल ताइवानको प्रतिष्ठित अस्पताल हो । २६ तलामा अवस्थित अस्पताल र कान्तिपुर जनरल अस्पताल र रोटरी क्लबको संयुक्त आयोजनामा मुख क्यान्सर परीक्षणको अभियान चलाइने बताइएको छ । साथै अस्पताल विशेष ओरल केयर सेन्टर पनि सञ्चालन गर्ने जनाएको छ । ओरल केयर सेन्टर फर स्पेशल निड नाम दिइएको सेन्टर दुई महिनाभित्र सञ्चालनमा आउन बताइएको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>