थालेसेमियाका बिरामीलाई सहयोग हस्तान्तरण
रत्ननगर (चितवन), २० कात्तिक । चितवनको भरतपुरमा उपचाररत थालेसेमियाका बिरामीलाई सहयोग हस्तान्तरण गरिएको छ ।
चितवन सहायता कोष बेल्जियमले उक्त बिरामीको उपचारका लागि उपलब्ध गराएको रु ९० हजार आज अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासैनीलाई हस्तान्तरण गरेका छन् ।
क्याट बेल्जियमका सदस्य चीजकुमार श्रेष्ठले सांसद अन्जनी श्रेष्ठमार्फत भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रुद्र मरासिनीलाई सो रकम हस्तान्तरण गरिएको हो ।
क्याट बेल्जियमले थालेसेमियाका बिरामीको उपचार सहयोगका लागि अस्पताललाई वार्षिक रु एक लाख ८० हजार सहयोग गर्ने गर्दछ ।
रकम बुझ्दै अस्पतालका मेसु डाक्टर रुद्र मरासिनीले थालेसेमिया बिरामी जस्तै अन्य बिरामीको सहयोगका लागि अस्पतालले गरिब तथा विपन्न नागरिक कोष बनाएको बताए।
बोनम्यारो ट्रान्सप्लान्ट थालेसेमिया रोगको महत्वपूर्ण उपचार भए पनि यो महँगो र विदेशमा गएर उपचार गर्नुपर्ने भएकाले रगत दिएर राखिने उनले बताए ।
भरतपुर अस्पतालमा थालेसिमिया रोग लागेका बालबालिकालाई विगत पाँच वर्षदेखि उपचार गर्दै आएका डा नारायणबहादुर थापाले राज्यको ध्यान यी बालबालिकाको उपचारको लागि केन्द्रित हुन आवश्यक रहेको बताए।
सांसद अन्जनी श्रेष्ठले थालेसेमियाको उपचार पद्धति र विधिमा सुधार ल्याउनुपर्ने बताउनुभयो । थालेसिमिया (अपुष्ट रक्तकोष) रगतसम्बन्धी हुने विभिन्न रोगको आनुवांशिक रोग हो । यो रोग तीन महिनादेखि चार वर्षसम्मका बालबालिकामा देखिन्छ । नेपालमा अझै पनि यो रोगको भरपर्दो उपचार हुन सकेको छैन ।
चितवन सहायता कोष बेल्जियमको आर्थिक सहयोगमा चितवन सहायता समाजले विगत सात वर्षदेखि यो रोगका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आइरहको छ ।
नेपालको कुल जनसङ्ख्याको चार प्रतिशत मानिसमा यस रोगको प्रकोप देखा परेको जनाइएको छ ।
भरतपुर अस्पतालमा एक वर्षको बच्चादेखि ४५ वर्ष उमेरसम्मका थालेसिमियाका बिरामीले उपचार लिँदै आएका छन् । जसमा महिला १७ र पुरुष ३६ जना छन् । रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>