जिल्ला कारागार चितवनमा छाला रोगको प्रकोप
रत्ननगर (चितवन), १७ कात्तिक । चितवनको भरतपुरस्थित जिल्ला कारागारमा छाला रोगको प्रकोप फैलिएको छ ।
क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको भरतपुर कारागारमा दाद, छाला चिलाउने, विभिन्न बिबिरा आउने तथा एलर्जी देखिएको कारागारका चौकीदार अमृत गुरुङले जानकारी दिए । कारागारमा रहेका झन्डै ६ सय कैदी र थुनुवामध्ये ५० प्रतिशतमा रोग देखिएको गुरुङले बताए । छाला रोगको प्रकोप नै फैलिएपछि कैदी र थुनुवाले उपचार गरी पाउँ भन्दै कारागार व्यवस्थापनलाई निवेदन समेत दिएका छन् । कारागारभित्रै कैदीको रुपमा रहेका अहेव तथा मेडिकल नाइके ओदारी महतोले छालाको रोग देखिएको लामो समय भए पनि अहिले भने रोग बढेर गएको बताउँछन् ।
कैद भुक्तान गरिरहेका उनी कैदी र थुनुवालाई कारागारभित्रै उपचार गर्ने मेडिकल प्राविधिक हुन् । भित्रको औषधिले नभेटेकाले बाहिरबाट औषधि र चिकित्सक ल्याउनुपर्ने महतोको भनाइ छ । कारागारमा छालाको रोग बढेको बताउँदै कारागार प्रमुख कमल काफ्लेले रोगको उपचारका लागि बाहिरबाट औषधि र चिकित्सक ल्याउने तयारी भएको बताउनुभयो । यो वर्ष कैदी र थुनुवाको उपचारका लागि भनेर रु १० लाख रकम सरकारबाट आएको कारागारले जनाएको छ । दुई सय ५० कैदीबन्दी राख्न मिल्ने क्षमताको कारागारमा अहिले झन्डै ६०० पुगेका छन् । कारागारभित्र व्यक्तिगत सरसफाइको अभाव छ । बढी कोचिएर बस्नपर्ने बाध्यताले छालाको रोग बढेको हो । अहिले नियमित उपचार गर्ने अन्य बिरामी क्यान्सरका पाँच जना, टिभीका पाँच जना, हेपाटाईटिसका दुई जना तथा अधिकांश उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको कारागारले जनाएको छ । रासस
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।