बाँकेमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे, सत्तरी जनामा संक्रमण
खजुरा (बाँके), १६ कात्तिक । नेपालगञ्जमा डेङ्गु र स्क्रब्स टाइफस रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।
नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ७० जनाभन्दा बढी स्क्रब्स टाइफस र डेङ्गुका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ ।
नेपालगञ्ज शिक्षण अस्पतालमा सबैभन्दा बढी डेङ्गु र स्क्रब्स टाइफस रोगका बिरामी आएका हुन् । अस्पतालका निर्देशक डा. एम किदवाईका अनुसार हालसम्म अस्पतालमा पुगेका बिरामीमध्ये ५० जनामा स्क्रब्स टाइफस रोग र आठ जनामा डेङ्गु भेटिएको छ । तीमध्ये अधिकांशलाई उपचार गरेर घर पठाइसकिएको, केहीलाई भारतको लखनउ र काठमाडौँ पठाउन सिफारिस गरिएको तथा अझैं केहीको उपचार भइरहेको निर्देशक डा। किदवाईले जानकारी दिए ।
डेङ्गु र स्क्रब्स टाइफस रोग लागेर अस्पतालमा भर्ना भएका बिरामीमध्ये अधिकांश बर्दिया जिल्लाबाट आएका छन् भने बाँकी कैलाली, सुर्खेत, दाङ, रुकुम, सल्यान र बाँकेका बिरामी रहेको अस्पताल प्रशासनले जनाएको छ । भेरी अञ्चल अस्पतालमा पनि डेङ्गुका दुई जना र स्क्रब्स टाइफस रोगका १० जना बिरामी आएको अस्पतालले जनाएको छ । भेरी अञ्चल अस्पतालका प्रमुख डा। श्यामसुन्दर यादवका अनुसार एक जना नेपालगञ्जका र एक जना दाङका बिरामीमा डेङ्गु देखिएकोमा उनीहरुको उपचार भइरहेको तथा स्क्रब्स टाइफस रोगका १० भन्दा बढी बिरामी भर्ना रहेको बताए ।
उहाँका अनुसार डेङ्गुु परीक्षणका लागि किटको अभाव भएकाले मन्त्रालय र विभागमा माग गरिएको जनाउँदै डेङ्गुु बढ्ने सङ्केत देखिएकाले समयमै सबै सचेत हुनुपर्ने सुझाव दिइएको छ । रासस
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।