किन हुन्छ एपेन्डिसाइटिस ?
मानिसको दाहिने कोखा भन्दा अलिकति तल रहने एपेन्डिक्स भन्ने एउटा पाइपजस्तो अङ्ग जुन कुनै पनि कारणले सुन्निन गएको आकस्मिक अवस्थालार्ई एपेन्डिसाइटिस भनिन्छ ।
यसको ल्युमेन (मुखद्धार) बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थालेपछि सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तमा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ । यसैकारण शरीरमा एपेन्डिसाइटिस हुन्छ । सन् १८८६ मा रेगिनाल्डले पहिलोपटक एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएका यो रोग पश्चिमी मुलुकमा बढी देखिएको छ । यसको कारण पश्चिम देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको छ ।
आकस्मिक रुपमा समयमै यो रोग ठम्याउन सकिएन र तुरुन्त उपचार सुरु गरिएन भने बिरामीको मृत्यु हुन पनि सक्छ । विभिन्न भाइरसका संक्रमणले एपेन्डिक्सको कोष सुन्निन्छन् । यसरी सुन्निएको कोषमा ब्याक्टेरिया जस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले एपेन्डिक्सको कोषलाई थप संक्रमण गर्दछन् । रोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक हुन सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम हुन्छ भने अर्को एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन अधिकांस मानिसमा चाँडै फुट्ने गर्छ ।
मुख्य कारण
शरीरको ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको संक्रमण गराउन सक्दछ । एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो । कब्जियतका बिरामीले दिशा खुकुलो बनाउने औषधिको अत्याधिक प्रयोग गरेमा पनि एपेन्डिसाइटिस हुन सक्छ ।
एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरको कारणले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँछ । रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठुलो हुँदै आफ्नो आकारमा वृद्धि भएर रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ । यदी पेरिटोनियम पनि फुटेमा आन्द्रा भित्रको गुह्य तत्व बहिर निस्कन्छ अनि जटिल प्रकारको संक्रमण हुन्छ । कहिले कही आन्द्राको वरिपरी आएर आन्द्रा वरिपरी रहेको ओ मेन्टअ्म भन्ने बोसोले ढाकेर संक्रमण हुनबाट रोक्छ । यसलाई अप्पेन्डिकुलर लम्प भनिन्छ । यसले पीपलाई अनेत्र सर्नबाट रोक्छ । अस्तो भएमा तुरुन्त शल्यकृया गर्न पर्दैन । तर चिकित्सकको प्रत्यक्ष निग्रानीमा रहनुपर्छ । अनि बिस्तारै संक्रमण निर्मुल भएपछि शल्यक्रिया गर्नुपर्छ ।
लक्षणहरु
१. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२.वान्ता हुनुः एक वा दुईपटक वान्ता हुन सक्छ ।
३. साधारणतया सय डिग्रीसम्म ज्वरो देखिन्छ ।
४. पिसाबमा रगत देखिन पनि सक्छ ।
५. कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउँछन् । एपेन्डिसाइटिस पत्ता लगाउन अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान गर्नुपर्छ । विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ ।
उपचार
शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्ने बाहेक यसको अर्को उपचारको विकल्प छैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने पेटमा रहेको आमाशयको सानो र ठुलो आन्द्रालगायतलाई ढाकेर राख्ने पेरिटोनियम तन्तुको एक तहलाई फुटाइदिन सक्छ । यदि त्यस्तो भएमा संक्रमण शरीरभरी फैलिएर बिरामीको मृत्यु हुन पनि सक्छ ।
पिसाबको संक्रमणको लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिनुपर्छ ।
भिडियो एक्सरे (अल्ट्रासाउण्ड)बाट पनि एपेन्डिसाइटिसको समस्याको निदान हुन्छ । तर, करिव १५ प्रतिशतको एपेन्डिक्स ठूलो आन्द्रा पछाडि हुने भएकाले आन्द्रामा दिसा वा ग्याँस भरिंदा शुरूको अवस्था फेला नपर्न सक्छ । यो समस्याबाट ज्यान जान सक्ने भएकाले रोग निदान नभएसम्म पीडा कम हुने औषधि सेवन गर्नु हुँदैन । एक्सरे र इमर्जेन्सी शल्यक्रियाको सुविधा भएको अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्तै जानु पर्छ ।
एपेन्डिसाइटिसको शल्यक्रिया रोगीको अवस्था हेरेर घाउ बनाएर वा प्वाल पारेर (ल्याप्रोस्कोपी विधिबाट) उपचार गरी केही दिनको आरामपछि निको हुन्छ ।
छिटो उपचार भएन भने एपेन्डिक्सको वरिपरि मासु तथा आन्द्रा गाँजिएर डल्लो बन्न सक्छ । त्यस्तो परिस्थितिमा औषधि मात्र खाएर निको पार्नुपर्ने बाध्यता पर्न सक्छ । त्यस्तो बेला निको हुन समय लाग्ने भएकाले फुट्ने खतरा हुन्छ । एपेन्डिक्स फुटेमा उपचारमा झन् जटिलता थपिन्छ ।
(वीर अस्पतालका जनरल सर्जन डा. इन्द्रकुमार झासँग गरीएको कुराकानीमाआधारित)
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।