पर्वतमा एघार सयको मुटु परीक्षण



Download our app to get more features

फलेवास (पर्वत), १५ कात्तिक । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा सम्पन्न दुई दिने मुटुरोग परीक्षण शिविरमा एक हजार १०० जनाको परीक्षण गरिएको छ । 

दुर्गम बस्तीमा पुगेर मुटुरोगको परीक्षण गर्ने अभियानका क्रममा शनिबार आइतबार गरी दुई दिन सञ्चालित शिविरमा एक हजार १०० को परीक्षण गरिएको हो । धौलागिरि अञ्चलका दुर्गमबस्तीका बासिन्दाको मुटुसम्बन्धी समस्या परीक्षण गर्ने र उनीहरुको निःशुल्क उपचार गर्ने उद्देश्यसहित दुई दिने शिविर सञ्चालन गरिएको थियो । पर्वतमा क्रियाशिल पाँच वटा लायन्स क्लबको आयोजना र मुटु बचाउ अभियानलगायतका संस्थाको सहयोगमा सञ्चालित दुर्गम बस्तीका लागि लक्षित शिविरमा पहिलो दिनमा ६०० र दोस्रो दिनमा ५०० भन्दा बढीको परीक्षण गरिएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा आएको टोलीले बिरामीको परीक्षण गरेको हो । 

शिविरमा सबैभन्दा बढी ब्लड प्रेसरका बिरामी भेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले जानकारी दिए । शिविरमा परीक्षण गरिएका बिरामीमध्ये २६ जनालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । परीक्षण गरिएका बिरामीमा चार जना मुटुमा प्वाल परेका बिरामी फेला परेका छन भने सात जनाभन्दा बढी भल्ब थुनिएका बिरामी भेटिएका छन् । शिविर आयोजना गर्न एनआरएनका संयोजक कुल आचार्यले रु ७० हजार, लायन्सका कुश्मास्थित डिस्ट्रिक पदाधिकारीले रु ४० हजार र लायन्स डिस्ट्रिक गर्भनर बालकृष्ण बर्लाकोटीले रु २५ हजार सहयोग गरेका थिए । 
शिविरमा पर्वत, बागलुङ, म्याग्दी र कास्कीका विभिन्न स्थानका बिरामी सहभागी भएका थिए । उक्त टोलीले यसअघि फलेवास, तिलाहारलगायतका गाविसमा पनि शिविर सञ्चालन गरेको थियो । 

सञ्जनलाई ह्विलचियर सहयोग 

पर्वत–८ माझँफाटका शारीरिक रुपमा अशक्त दिलबहादुर विक ‘सञ्जन’लाई आवतजावतमा सहजताका लागि ह्विलचियर सहयोग गरिएको छ । 

आर्थिक अवस्था कमजोर भएकै कारण ह्विलचियरको अभावमा दैनिक कष्टकर जीवन बिताइरहेको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि इन्डिपेन्सी लिभिङ सेन्टरले आधुनिक प्रविधिको आल्मुनियम ह्विलचियर उपलब्ध गराएको हो । सेन्टरका प्रमुख भोजराज श्रेष्ठले करिब रु ७० हजार मूल्य बराबरको ह्विलचियर महिला अधिकारकर्मी जमुना आचार्यमार्फत उपलब्ध गराएका थिए । आइतबार मल्लाजमा एक कार्यक्रम गरी हिमसुसेली युवा क्लबले पीडितलाई हस्तान्तरण गरेको थियो । रासस 

Last modified on 2017-08-09 16:27:09

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts