कालको पत्र
एकजना व्यापारी मृत्युदेखि साह्रै डराउँथ्यो । यसैले एकदिन उसको मनमा जुक्ति आयो र काललाई आफ्नो साथी बनायो । उसले काललाई भन्यो, हेर साथी तिमी त कसैलाई पनि छोड्दैनौ, एकदिन त मलाई पनि लैजान्छौ ?
कालले जवाफ दियो, सृष्टिको यो शास्वत नियम हो, यो मेरो कामै हो.......तर साथी चिन्ता नगर, तिमी मेरो साथी हौ, जति सेवा गर्न सक्छु, गर्नेछु । भन, तिम्रो मसँग के अपेक्षा छ ?
त्यस चलाख व्यक्ति भन्छ, म यति चाहन्छु कि तपाई मलाई लिन आउनुभन्दा केही दिन अगाडि एउटा चिठी पठाउनुहोला । म आफ्नो बालबच्चालाई आफ्नो कारोवारबारे बताउने छु तथा आफूलाई भगवानको भजनकीर्तनमा समर्पित गर्नेछु ता कि मेरो मरण दुःखमय नहोस् ।
व्यापारीको कुरा सुनेर कालले एकदम मायाका साथ भन्यो, यो कुन ठूलो कुरो भयो र ? म तपाइलाई लिन आउनुभन्दा पहिला एउटा होइन, तीनवटा फरक फरक पत्र पठाउनेछु । यो सुनेर व्यक्ति खुशी भयो र सोच्न थाल्यो कि आजबाट मेरो मनमा कालको जुन डर थियो त्यो रहेन । अब आफू मर्नुभन्दा पहिला सम्पूर्ण कामकाज मिलाएर व्यवस्थित गरेर जान पाउने भएँ । म मरेर गएपनि मेरो परिवारले दुःख नपाउने भए । मर्ने बेला भएपछि आफूलाई भजनकीर्तनमा समावेश गर्नेछु । यसो गरेँ भने त देवताहरु पनि खुशी हुन्छन् । मलाई स्वर्गमा ठाउँ मिल्छ ।
दिन बित्दै गयो, मृत्युको समय त आइनै गयो ।
काल आफ्नो दलबलसहित व्यापारीको घर पुग्यो र भन्यो तपाईलाई लग्ने समय भयो, मसँग हिंड्नुहोस् । यो सुनेर व्यापारीले तिमी जस्तो साथी हुनु त धिक्कार रहेछ भन्दै सराप्न थाल्यो । एउटा बचन दिने अनि पूरा नगर्ने ? अलिकति लाज शरम पनि छैन ? मलाई लिन आउनुअघि पत्र पठाउछु भन्ने बचन कता गयो ?
कालले हाँस्दै भन्छ, यति साह्रो झुट पनि नबोल साथी । मैले तिमीलाई एउटा होइन तीनवटा पत्र पठाएको छु ।
कस्तो पत्र ? आश्चर्य मान्दै व्यापारीले सोध्यो ।
पहिलो पत्र तिमीलाई ब्लडप्रेसरको रुपमा पठाएँ कालले जवाफ दियो । सधैं मानसिक तनावमा रहनुहुन्न, जाँड रक्सी, सूर्तीसेवन गर्नुहुन्न भन्ने थाहा हुँदाहँंदै पनि तिमी वास्ता नगरी हिँड्यौ । पार्टीको मन राख्नैपर्यो भन्दै दिनहुँ नशामा चुर्लम्म डुब्यौ, रात बिहान नभनी काम गर्ने, मानसिक रुपमा तनावपूर्ण जीवन नै तिम्रो दैनिकी बन्यो ।
पत्र पठाएर केही बदलिन्छौ कि भन्ने सोचेको थिएँ । चिकित्सकलाई आफ्नो समस्या पनि देखायौ, चिकित्सकको सल्लाह अनुसार केही दिन मात्र औषधि सेवन गर्यौ । तर नियममित औषधि सेव गर्ने आवश्यक ठानेनौ ।
साथी, तिम्रो मलाई साह्रै चिन्ता लाग्थ्यो, अब त सुध्रिन्छौ कि भनेर अर्को पत्र पठाएँ, यस पटक तिमीलाई हात खुट्टा पोलेको, प्यास बढी लागेको, पिसाब बढी हुने शरीर चिलाएको अनुभव भयो । वास्तवमा तिमीलाई सुगरको रोगको रुपमा अर्को पत्र पठाएको थिएँ । तिमीले फेरि चेकजाँच गरायौ । डाक्टरले औषधी सधै खानुपर्ने, रगत चेकजाँच गरिरहनुपर्ने जस्ता विभिन्न सल्लाह दिए । करीब एक महिना औषधी खायौ, त्यसपछि व्यस्तताको कारण रगत जाँच गर्नै छोडिदियौ, डाक्टरसँग चेक गराउन जानै छोडिदियौ । दैनिकीमा केही परिवर्तन देखिएन ।
साथी तिमीले कहिल्यै आफ्नो स्वास्थ्यस्थितिलाई गम्भीर रुपमा लिएनौ । ब्लडप्रेसर, सुगर भन्ने ठूलो रोग हो । यस्ता रोग लाग्न नदिनै राम्रो । यी दुवै रोग मन्द विष जस्तै हो । यी दुवै रोगले शरीरका अंगप्रत्यग मुख्य गरी आँखा, मिर्गौला, मुटु र दिमागमा प्रत्यक्ष हानी पुरयाइरहेको हुन्छ । दुवै रोगमा नियन्त्रण जरुरी हुन्छ र दुवैलाई नियन्त्रणभित्र राख्नु नै यसको उपचार हो । औषधी खाएर मात्र हुँदैन । समय समयमा चेकजाँच गरेर डाक्टरको सल्लाह पनि मान्नैपर्छ । शरीरका अंगहरु एकचोटी बिग्रन थालेपछि कालले पनि आँखा खोल्छ । त्यही बिग्रने क्रम जारी रहे काल पनि तपाई समक्ष चाँडै आउँछ ।
तिम्रो बुबालाई रक्तचाप छ, औषधी खानुहुन्छ । तपाइको काकालाई हृदयाघात भएको थियो, तपाइको आमालाई सुगरको समस्या छ । तिमी आफै तनावमा रहन्छौ । न खाने ठेगान छ, न सुत्ने, न शनिवार न अरु कुनै दिन विदा । बिहान उठ्यो फोन समात्यो, अफिस गयो, दिनभरी पार्टीहरुसँग मिटिङ, साँझ परेपछि ग्यादरिङ, अनि राति दश बजे घर फिर्ता । फेरि ११ बजेसम्म फोन ।
तिमीलाई नै होइन, निटै पिउनुपर्ने, डाइलुट गरेको त मज्जै नआउने । अनि एक क्वार्टरले त छुँदैछुँदैन । भ्mयाप नहुनेगरी पनि के रक्सी पिउनु ? अनि रक्सीसँग खसीको भुटन, कति मिठो हुन्छ नि ? अझ सेकुवा, साँधेको तारेको, भुटेको के चाहियो ? कहिले सोच्नुभयो यो सबैले शरीरमा कति हानी गरिरहेको छ ? खान रमाइलो गर्न जान्यो, पैसा गजबै कमायौ, तर खोइ त जानेको ? छ महिनामा एकपटक वा नसके कम्तिमा बर्षको एकपटक त रगत जांच गर्न सकिन्थ्यो कि ? महिनाको एकपटक ब्लडप्रेसर जाँच्न सकिन्थ्यो कि । बीच बीचमा एकपटक डाक्टरसँग सल्लाह लिएर निश्चिन्त भएर बस्न त सकिन्थ्यो ।
यो सबै आवश्यक ठानेनौ । जिन्दगीमा कसरी प्रगति गर्न सकिन्छ, कसरी बढी कमाउन सकिन्छ यति मात्र सोच्यौ । मलाई अझै याद छ श्रीमतिले तपाईंलाई राति ढिलासम्म काम नगर्नुस्, नशा सेवन नगर्नुहोस् भनेर अनुरोध गरेको । हुन्छ हुन्छ भन्यौ, भोलिपल्टदेखि सबै छोड्ने बाचा पनि गर्यौ । तर त्यो भोलि कहिल्यै आएन । अति भएपछि तिम्रो श्रीमतिले बच्चाको कसम पनि खुवाइन् । तर पनि तिमी सुध्रिएनौ ।
मानसिक तनाव पनि रक्तचापको प्रमुख कारण हो । यसैको कारण मानिसलाई हृदयाघातसम्म पनि हुनसक्छ । दैनिक केही समय आराम गर्ने, हप्तामा एक दुइ दिन कामबाट फुर्सद लिएर आफ्नो परिवारसँग रमाइलो गर्ने, सबै कामकाज बिर्सेर मनोरञ्जन गर्ने हो भने पनि मानसिक तनाव कम गराउन सकिन्छ ।
यो बाबा त कस्तो गनाएको ? तिम्री छोरीले एकचोटी यसो भन्दा झस्किएका थियौ किनकी तिमीले पिउने चुरोट र चपाउने खैनी त्यो दिन एकदम गनाइरहेको थियो । सुर्ति सेवनले मुटुरोग गराँउछ यसलाई छोड्नैपर्छ भनेर डाक्टरले पनि भनेकै थिए । तिमीलाई पनि थाहा नभएको त होइन । तर खै, त्यसदिन मुख कुल्ला गरेर आयौ, छोड्ने त नामै लिएनौ । ब्लडप्रेसर, सुगर भएमा, सधै तनावमा रहने गरेमा, रगतमा कोलेष्ट्रोल उच्च भइरहेमा, तथा सुर्ती सेवन गर्ने मानिसलाई हृदयाघात हुने सम्भावना सधै उच्च रहिरहन्छ । अब त खान छोड्छौ भनेको त अर्को दिनदेखि माउथ फ्रेस्नर पो बोकेर आउन थाल्यौ ।
तिमीलाई याद छ कि छैन, एकदिन त्यो दशैको पार्टीको भोलिपल्ट बिहान सुतेर उठ्दा तिम्रो शरीरको दाहिने भाग लुलो भएर उठाउनै नसकेको । उठ्न खोज्दा खुट्टा पनि कमजोर भएर लड्न लागेको । प्यारालाइसिस् नै भयो कि भनेर कसरी एम्बुलेन्समा दौडाएर इमरजेन्सी पुर्याएको । डाक्टरको जाँचपछि रक्तचाप धेरै भएको, रगतमा बोसोको मात्रा धेरै भएको, सुगर अनियन्त्रित रहेको र यी सबैको कारण दिमागमा रगत प्रवाह गर्ने रक्तनलिहरु सांगुरिएर दिमागमा आवश्यक रगत नपुगेको कारणले यस्तो भएको बताएका थिए ।
मेडिकल भाषामा यसलाई स्ट्रोक भएको भन्ने कुरा गरेका थिए डाक्टरले । यो तिमीलार्ई भविष्यमा हुनसक्ने दुर्घटनाको बारे अर्को चिठी थियो । तर तिमीले बुझ्न सकेनौ । यस घटनालाई पनि सामान्य लियौ, उही दुइ चार दिन औषधी खायो, छोड्यो, फेरी उहि दैनिकी ।
टुँक टुँक टुँक .......मुटुको चालसँगै मनिटर एकोहोरो कराइरहेको छ । नाडीमा औषधी दिनको लागि क्यानुला लगाइएको छ । छेउमा भएको धाराबाट तप्तप् पानी चुहिरहेको छ । उ अस्पतालको आइसीयु कक्षको बेडमा पल्टिरहेको छ । खाटको तल्लो छेउमा सिरक गुजुल्टेको छ । खाटको तन्ना पनि कच्याक कुचुक परेको छ, माडिएर ।
छेउमा रहेको कुुर्सीमा श्रीमति मलिनो अनुहार लिएर बसेको छिन् । झ्यालबाट पर हेर्न खोज्छ, आँखा धमिलो भएर प्रष्ट नदेखेको जस्तो गर्छ । खुट्टा पनि अलि सुन्निएको रहेछ । उसलाई सास पनि फुलेको जस्तो लागेको छ । जीउ कता कता चिलाइरहेको छ । खाना खान पटक्कै मन छैन, खाली वाकवाकी लागिरह्यो भन्छ । हिजो उसलाई यहाँ ल्याएको रे । ठुलै हर्ट अट्याक भएको थियो रे । हर्ट अट्याक पश्चात म त बेहोसै भएछु, डाक्टरहरुको उपचारले बाँचेका रहेछन् ............... भर्खर होस्मा आएको रहेछ ।
एकछिन् एकछिन्.........ऊ उठ्न खोज्दैथे, नर्स आत्तिएर आउछन्... उसलाई नउठ्न भन्छन् ।
बाहिर मानिसहरु हिँडेको सुनियो, डाक्टर राउण्डमा आएका रहेछन् । २ जना नर्स, जुनियर डाक्टरको साथमा आए, ऊसँग कुराकानी गर्न थाले, रिपोर्ट हेर्दै भन्दैथिए, ठुलै हर्टअट्याक भएको रहेछ । उहाँको त एन्जियोग्राम गर्नुपर्छ । फेरि केही रिपोर्ट पल्टाएर भने, अहिले एन्जियोग्राम त गर्नै नमिल्ने रहेछ । रगको रिपोर्टमा मिर्गौलाको अवस्था एकदम खराब देखियोे । क्रियटिनिन् त धेरै हाइ रहेछ............ऊ अवाक् डाक्टरहरुको अनुहार हेरिरहन्छ........केही छिनपछि जान्न पुग्छ......उसको दुइवटै किड्नी पनि कामै नलाग्ने गरी खराब भइसकेछन् ।
उसले सुनेको थियो, किड्नी खराब भयो भने मान्छे धेरै बाँच्दैनरे । त्यसमाथि हर्ट अट्याक, सुगर पनि भएपछि त अब के चाहियो र ? झलझल ७ कक्षा पढ्दै गरेको छोरीको याद आउँछ । श्रीमतिसँग आँखा जुध्न पुग्छ । ‘नआत्तिनुहोस्, केही हुंदैन’, डाक्टरले उसको अनुहार पढेछन् क्यारे । उसको आंखाबाट तरर आँसु झर्यो । अब त म धेरै बाँच्दिन होला.....शायद यस्तै उसले सोच्यो होला र उसकोे मनको भाव श्रीमतिले पनि बुझिन् । उसको हात समातेर मलाई सम्हाल्न खोज्दैथिई ।
अहिले उसलाई पुराना कुराहरु चलचित्रका दृश्यहरु झैं आँखामा आइरहेछ । साथीको लहैलहैमा लागेर आफ्नो स्वास्थ्यमा त्यति ध्यान दिइएन । काममा व्यस्त नै सही, उसले आफ्नो स्वास्थ्यको लागि पनि केही समय छुट्याउनै पथ्र्यो । ब्लडप्रेसरको औषधी नखान खोजेको त कहाँ हो र, साथीभाई, इष्टमित्र सबैले यस्तो औषधी सधै खाए मिर्गौला नै खराब हुन्छ भन्ने सल्लाह दिए । एकजना काकाले त झन यो औषधी बाँचुन्चेल खानुपर्छ, खानु हुँदैन भन्ने सल्लाह पनि दिए । उसलाई के थाहा, ब्लडप्रेसरले यस्तो अवस्था पनि ल्याउँछ भन्ने कुरा ।
मानिसहरुलाई अझैपनि ब्लडप्रेसर, सुगर भन्ने कति खराब रोग हो भन्ने जनचेतना छैन । औषधी खाँदा यस्तो खराबी गर्छ भन्ने थाहा छ तर औषधी नखाँदा, रोग पालेर बस्दा रोगले कालको मुखसम्म पुर्याउछ भन्ने थाहा छैन । रक्सी, चुरोट, सुर्ती सेवन आदिले मुटु, फोक्सो खराब गर्छ भन्ने थाहा हुँदा हुँदै पनि यस्ता कुराहरु सेवन गर्न छोड्दैनन् । आफ्नो नजिकका नातेदारहरुमा ब्लडप्रेसर, सुगरको समस्या छ भने वा कसैलाई हृदयाघात भइसकेको छ भने यस्ता व्यक्तिमा पनि यी समस्याहरु आउन सक्छन् भन्ने धेरैलाई थाहा छैन । मानिसहरु धेरै महत्वाकांक्षी बन्दैछन् । कसरी धेरै प्रगति गरौ, कसरी धेरै कमाउँ, सबैको सोच यस्तै छ । मानसिक तनावै तनावमा मानिसको दैनिकी चल्छ ।
उसले अहिले थाहा पायो, उसको सम्पूर्ण रोगहरुको कारण ब्लडप्रेसर नै रहेछ । र त्यो ब्लडप्रेसरको कारण चाहीँ उसको व्यस्त दैनिकी, दैनिक नशाको सेवन, दैनिक तनाव । यी सबै कुराको साथमा शारिरिक व्यायामको कमीले सुगर पनि देखा परेको रहेछ । ब्लडप्रेसर, सुगर दुवैले उसको मिर्गौला खराब गरेको रहेछ । उसलाई लाग्यो, मैले शुरुदेखि नै डाक्टरको सल्लाह मानेको भए, औषधी खाएको भए आज शायद यो दिन देख्न पर्दैन थियो कि ? अब त हृदयाघात भयो, मुटु काम नलाग्ने बन्यो, मिर्गौला पनि काम नलाग्ने भयो, ऊसँग करोडौं, अरबौं भए नि के गर्नु । अब पुरानै अवस्थामा त कुनै हालतमा फर्किन नसकिने अवस्थामा शरीर पुगिसकेको छ ।
उसलाई डाइलाइसिस् रुममा पुरयाइयो । शरीर फतक्क गलेको प्रष्ट देखिन्छ । आँखाको ज्योति पनि कमजोर भएछ कि कसो, कसैको अनुहारमा हेरेर पनि प्रतिक्रिया दिँदैन । उ आँखा चिम्म गर्छ । साथै कसैसँग संवाद गरिरहेको जस्तो गरी मुख चलाउँछ । वास्तवमा काल उसलाई लिन आइसकेको थियो, तर उ जान राजी थिएन । शायद अब त रोगको उपचार पनि डाक्टरको नियन्त्रण बाहिर गइसकेछ कि कसो, एकैछिन पनि उ निःशब्द, शान्त हुन्छ, मनिटर एकोहोरो टिंक टिंक टिंक गर्छ ।
डा श्रेष्ठ ग्राण्डी अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्