डेंगु परीक्षण गर्न किटको अभाव
काठमाण्डौं १० कात्र्तिक । पहाडका केही र तराइका धेरै जिल्लामा डेंगुको प्रकोप बढ्दै गएको छ । तत्काल रोकथामका लागि पहल नगरिए डेंगुले महामारीको रुप लिने चिकित्सकहरुले बताएका छन् । यता सरकार भने परीक्षणको लागि किट समेत नभएको भन्दै लाचार बनेको छ ।
यो मौसम डेंगुको प्रकोप बढ्ने मौसम नै हो । यतिखेर पहाड र तराइका केही जिल्लामा डेंगुको प्रकोप फैलिएको छ । मुलुकभरि डेंगु ज्वरो सबैभन्दा बढी देखिने यो समयमा संक्रमण पहिचान गर्ने द्रुत परीक्षण किटको अभाव भएको इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेंगुको संक्रमण कात्तिक–मंसिरमा सबैभन्दा बढी देखिने गरेको छ । किट अभावले गर्दा लक्षण देखिएका बिरामीको समेत राम्रो परीक्षण हुन सकेको छैन ।
सन् २००६ को नोभेम्बर महिनामा मुलुकमा डेंगु देखिएको जनाएको थियो । डेंगु नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन नीति आवश्यक भए पनि यसबारे खासै पहल नभएको गुनासो विज्ञहरूको छ । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नाम गरेको दिउँसो टोक्ने लामखुट्टेले हुने तीव्र भाइरल संक्रमण हो । एडिज जात लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगु रोकथामको उपाय हो ।
सरकारी तथ्यांकअनुसार चितवन, झापा, काठमाडौं, पर्सा, रूपन्देही, कैलाली, कञ्चनपुर, ललितपुर, धादिङ, काभ्रे, सप्तरी, कास्की र स्याङ्जा गरी १३ जिल्लामा डेंगु ज्वरोको संक्रमण देखिएको छ । विशेषज्ञहरूका अनुसार यो रोग मधेसका अधिकांश जिल्लामा फैलिएको छ । पहाडी जिल्लामा समेत डेंगु फैलिए पनि पहिचान हुन सकेको छैन ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाको अनुसार मुलुकभर पाँच सय भन्दा बढिमा डेंगु संक्रमण देखिएको छ । संक्रमण हुनेको संख्या दिन प्रतिदिन बढ्दो छ । तर डेंगु रोग परिक्षणको किट खरिद प्रक्रिया लामो हुँदा किट अभाब भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यको भनाइ छ । गत बर्ष डेंगु नदेखिएको र गत बर्ष खरिद गरेको किटको म्याद सकिएकोले नस्ट गरिएको रोग नियन्त्रण महाशाखाले बताएको छ ।
कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्युसमेत हुन सक्छ । बयस्कको दाँजोमा बच्चा र बूढापाकामा यो रोगको प्रकोप बढी देखिन्छ । डेंगु रोगको प्रकोप दिनानु दिन बढ्दो छ । डेंगु रोगको प्रकोप मंसिरसम्म फैलिने भएकोले सरकारले रोग परिक्षणको किट छिटो भन्दा छिटो ल्याउनु आवश्यक छ ।