स्वास्थ्य चौकीको निर्माणसँगै यसरी तङ्ग्रिदै छ धादिङको सेमजोङ



Download our app to get more features

धादिङ, ७ कार्तिक । धादिङको उत्तरी गाविस सेमजोङ । सदरमुकाम धादिङवेसीबाट झण्डै ३३ किलोमिटर उत्तर तर्फ लागेपछि एक रमणीय पहाडी गाविस समेजोङ पुगिन्छ । चारैतिरका हरियाली पहाडहरुले त्यस ठाउँको सौन्दर्य झनै लोभलाग्दो थियो । दसैं सकिएको धेरै भएको छैन । दसैंको रौनक सँगै बाटोको छेउ–छाउ र आसपासमा फुलेका फूलहरुले सेमजोङ थप रंगिन बनेको थियो । अघिल्लो वर्षको भूकम्प र त्यसले निम्त्याएको वियोग विर्सेर तङ्ग्रिदै गरेको सेमजोङ अझै पूर्ण रुपमा उठिसकेको भने छैन । प्रकृतिले विपद्को त्रास विर्साउन खोजेपनि भूकम्पको दर्दले सेमजोङवासीलाई विझाउन भने छाडेको छैन । तर, यहाँका स्थानीयहरुमा देखिने मन्द–मन्द मुस्कानले भने पीडालाई उछिनेको आभाष गर्न सकिन्छ । 

अघिल्लो वर्ष गएको भूकम्पले अधिकांश सेमजोङवासीकै घर, गोठ जमिनमा मिसाइदियो । सोही विपदामा परी १७ जनाले ज्यान पनि गुमाएका थिए । विस्तारै विस्तारै यी पीडाहरु विर्सदै डेढ वर्षको अवधिमा सेमजोङवासीहरु आफ्नो जीवनलाई सक्रिय बनाउने प्रयासमा जुटेका छन् । 

भूकम्पबाट गाउँसँगै रहेको एकमात्र स्वास्थ्य चौकी समेत ध्वस्त भएपछि थप पीडा भोगेका यहाँका स्थानीयहरु स्वास्थ्य चौकीको निर्माण सँगै थप खुसी देखिएका छन् । सामान्य विरामी हुँदा पनि डेढवर्षदेखि पालमुनीबाटै जवर्जस्त जीवन खोज्न बाध्य थिए यहाँका स्थानीयहरु । स्वास्थ्यचौकी नभएपछि पालले बारिएको सानो छाप्रोमुनि उपचार गराउनु र त्यहाँ पनि सम्भव नभए सदरमुकाम वा राजधानीसम्म उपचारको खोजीमा धाउनुपर्ने उनीहरुको बाध्यता अब अन्त्य हुने भएको छ ।

जर्मन सरकारको सहयोगमा जीआइजेडको जर्मन रिकभरी कार्यक्रम अन्तर्गत झण्डै ४२ लाखको लागतमा स्वास्थ्य चौकी निर्माण भएपछि सेमजोङवासीमा खुसीको सीमा छैन ।  गत कार्तिक ४ गते सरकारी टोली, जर्मन राजदुत माथियास मेयरलेसहित नर्वेका राजदुत श्येल टोर्मोड पेटर्सनको टोलीले संयुक्त रुपमा स्वास्थ्य चौकीको उद्घाटन गरेका थिए ।

सेमजोङ –३  चौतारा भन्ने ठाउँमा बसोबास गर्दै आएकी २३ वर्षीया नीमा तामाङ स्वास्थ्य चौकी निर्माण पछि निकै खुसी देखिएकी छिन् । पेशाले उनी स्वास्थ्य स्वयम्सेविका नीमाले भूकम्प पछि पाल मुनिबाट विरामीको सेवा गर्दै आएकी थिइन् । तर अब स्वास्थ्य चौकी बनेपछि भने आफ्नो काममा निकै सहजता आउने उनले बताइन् । 

‘सुत्केरी गराउँन समस्या थियो, उनले भनिन् ‘पालमा सुत्केरी गराउनु पर्ने भएकाले चिसोमा सारै चिसो र गर्मीमा धेरै गर्मी हुन्थ्यो ।’ 

सेमजाङमा धेरै वर्ष भयो गर्भवती र शिशुको मृत्यू नभएको, उद्घाटन पछि स्वास्थ्य चौकीमा रहेको सुत्केरी कक्ष हेर्दै निमाले भनिन् ‘पहिला सुत्केरी गराउन धेरै समस्या हुन्थ्यो, यहाँ त धेरै सुविधा रहेछ ।’

स्वास्थ्य चौकीको अभावका कारण सेमजोङका कतिपय गर्भवतीहरु सुत्केरी हुनु भन्दा दुई महिना पहिला नै धादिङ्गवेसी गएर बस्ने गरेका थिए । गर्भवती मात्र होइन गाँउमा कोही विरामी हुदा स्वास्थ्य उपचारका लागि धादिङवेसी हुदै काठमाडौंसम्म धाउन वाध्य थिए । सेमजोङमा स्वास्थ्य चौकी निर्माण भएपछि स्वास्थ्योपचारमा सघाउ पुग्ने स्थानीयहरुले बताएका छन् । जीआइजेडले धादिङ्गमा १६ बटा स्वास्थ्य चौकीको निमार्ण गरिदिएको छ  । 


 

Last modified on 2017-08-11 14:43:09

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts