स्वास्थ्य क्षेत्रको संकट  र हाम्रो दायित्व 



Download our app to get more features

नेपालको इतिहासमा स्वास्थ्यकर्मी र सेवाग्राहीहरु बीचको सम्बन्ध सायद अहिलेसम्म कै सबैभन्दा  नाजुक अवस्थामा पुगेको छ । विभिन्न घटना परिघटनाहरुका कारण सेवाग्राहीहरु स्वास्थ्यकर्मीबाट  र स्वास्थ्यकर्मीहरु सेवाग्राही एवं  आम जनताबाट असुरक्षित महसुस गर्नुपर्ने विडम्बनापुर्ण अवस्था सिर्जना भएको छ।बाहिरै देखिने गरि हातपात,तोडफोड,सार्वजनिक अपमान,विरोध र्याली,सेवा ठप्प पार्ने जस्ता घटनाहरु नियमित जस्तो भैरहेका छन।यस्ता घटनाहरुका नदेखिने पक्षहरु झनै घातक र संक्रामक सावित हुँदैछ्न।बढ्दो अविश्वास,असन्तुष्टि,हीनताबोध,निराशा,पलायन जस्ता मानसिक पक्षहरुले थला परेको हाम्रो स्वास्थ्य क्षेत्रको नाजुकतालाई झनै बढाउदै लगेका छ्न।समग्रमा स्वास्थ्य क्षेत्र नै अस्वस्थ बनेको छ,भौतिक र मानसिक दुबै रुपले।

चिकित्सा शिक्षा एवं स्वास्थ्य सेवामा हावी भएको व्यापारिकरण र आर्थिक महत्त्वाकांक्षाका कारण व्यावसायिक इमानदारीता घट्दो छ।स्वास्थ्य क्षेत्र सेवा गर्ने भन्दा अर्थोपार्जन र नाफा कमाउने व्यवसाय बनेको छ।स्वास्थ्य संस्थाहरुले विरामीलाई केवल ग्राहकको रुपमा व्यवहार गर्ने  र सेवाग्राहीहरुले स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीलाई व्यापारीक संस्थान र व्यापारी जस्तो सोचिदिने प्रवृत्ति बढेर गएको छ।यो विश्वासको खाडल नै बढ्दो विवाद,असुरक्षा र असन्तुष्टिको मात्र होइन खस्कदो मानसिक स्वास्थ्यको कारण पनि बन्दै छ।

अर्कोतिर, स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीहरुबाट हुने लापरबाहीलाई पनि नकार्न सकिन्न।कमजोर स्वास्थ्य शिक्षा,स्रोत साधनहरुको अभाव,अवैज्ञानिक अभ्यासहरु,असंवेदनशिलता र व्यावसायिक आचारसंहिता विपरीतका क्रियाकलापहरु पनि बढ्दो विवाद र असुरक्षाका कारणहरु हुन।सरकारी अस्पतालहरुका प्रशासनिक र नितिगत निकाय तथा प्राइभेट अस्पतालका संचालकहरुको असंवेदनशिल एवं नाफामुखि  भुमिकाले स्वास्थ्यकर्मी र बिरामी विचको सम्बन्धलाई थप तिक्ततापुर्ण बनाइदिएको छ।कतिपय अवस्थामा स्वयं चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आर्थिक महत्त्वाकांक्षा र अमर्या्दित क्रियाकलापहरुले स्वास्थ्य क्षेत्रको साख गिराउने काम गरेको पाइन्छ।

हाम्रो व्यवस्थामा उपलब्ध वाक स्वतन्त्रता विश्वमै अतुलनीय छ।जस्तासुकै संवेदनशिल विषयमा विना प्रमाण  र प्रभावको लेखाजोखा बिना जे लेखे पनि हुने र जे बोले पनि हुने जुन प्रेश स्वतन्त्रताको अभ्यास हाम्रोमा छ, त्यसको प्रभाव स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी परेको छ। आम सञ्चार माध्यमहरुले स्वास्थ्य जस्तो प्राविधिक विषयमा घटनाका प्राविधिक पक्षहरुको उचित मूल्याकंन र सम्बन्धित विज्ञहरुको रायबिना जथाभावी प्रकाशन प्रसारण गरिदिने, घटनालाई अतिरन्जित गरिदिने गर्दा स्वास्थ्यकर्मी र सेवाग्राहीबीचको विश्वास पातलिदै गएको छ। यस अलावा हाम्रोमा व्याप्त सामाजिक संजालहरुको दुरुपयोग, राजनीतिक रंग, भिडन्त र दण्डहीनताले स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मी विरामी सम्बन्धमा ठुलो जटिलता थपेको छ।

प्रभावकारी सञ्चार विवादरहित स्वास्थ्य सेवाको आधार हो। सञ्चारले औषधोपचारका क्रममा कुनै जाँच,परिक्षण र उपचारका विविध पक्षहरुको बारेमा बिरामी पक्षलाई परिचित गराउँदछ। गर्न लागिएको परिक्षण वा उपचारका फाइदा,बेफाइदा र सम्भावित जोखिमको बारेमा ज्ञात गराइ परिक्षण र  उपचार स्वीकार गर्ने नगर्ने भन्ने निर्णय गर्न सक्षम बनाउँदछ।

व्यापारीकरण र आर्थिक महत्त्वाकांक्षाका कारण उत्पन्न जटिलताहरुको समाधान सस्तो,सर्वसुलभ र गुणस्तरीय चिकित्सा शिक्षा र राज्य नियंत्रित स्वास्थ्य सेवाबाट मात्र सम्भव देखिन्छ।लापरबाही अक्सर स्रोत साधन र दक्षताको कमिले हुन्छ्न।कति लापरबाही असंवेदनशिलताका कारण पनि  हुन्छ्न।स्वास्थ्यकर्मीहरुको दक्षता र क्षमता अभिवृद्धि,लापरवाही नियन्त्रण र व्यावसायिकताको विकास स्वास्थ्य मन्त्रालय,मेडिकल काउन्सिल लगायतका अन्य नियमन निकायहरुको दायित्वबोध,इमानदारीता र सक्रियताबिना सम्भव छैन।बाँकी विवादहरु जानकारीको कमि वा प्रभावकारी सञ्चारकोअभावका कारण उत्पन्न हुन्छ्न।जसलाई सम्पुर्ण चिकित्सक,स्वास्थ्यकर्मी,सञ्चारकर्मी र आमजनताको सकारात्मक प्रयासबाट सहजीकरण गर्न सकिन्छ।

प्रभावकारी सञ्चार विवादरहित स्वास्थ्य सेवाको आधार हो। सञ्चारले औषधोपचारका क्रममा कुनै जाँच,परिक्षण र उपचारका विविध पक्षहरुको बारेमा बिरामी पक्षलाई परिचित गराउँदछ।गर्न लागिएको परिक्षण वा उपचारका फाइदा,बेफाइदा र सम्भावित जोखिमको बारेमा ज्ञात गराइ परिक्षण र  उपचार स्वीकार गर्ने नगर्ने भन्ने निर्णय गर्न सक्षम बनाउँदछ।साथै,परि आउन सक्ने भवितव्य सहनका लागि तयार पनि पार्दछ।प्रभावकारी सञ्चारले स्वास्थ्यकर्मी र बिरामी पक्षबिच साझा र सन्तुलित बुझाइ र अपेक्षाको विकास गरि सेवाहरुलाई विवादरहित बनाउने मात्र होइन सम्भावित जोखिमहरुको पहिचान गरि परिक्षण र उपचारहरुलाई बढीभन्दा बढी सुरक्षित बनाउन पनि मद्दत गर्दछ।

जटिल शल्यक्रिया र परिक्षणहरुको क्रममा मन्जुरीनामा लिने प्रचलन लगभग सबैतिर अभ्यासमा छ । तर अधिकांश अभ्यासहरुमा यसलाई प्रभावकारी सञ्चार भन्दा पनि कानुनी प्रक्रियाको रुपमा मात्र प्रयोग गरिएको पाइन्छ।परिक्षण वा उपचारको बारेमा बिरामी पक्षको बुझाइ भन्दा उनिहरुको सहि छापलाई बढी महत्त्व दिएको देखिन्छ।मन्जुरीनामाको परिपुरक अर्थात परामर्शलाई नजरअन्दाज गरिँदा सहिछाप मात्रको मन्जुरीनामाले विवाद रोक्ने अवस्था हुदैन।अर्को कुरा, मन्जुरीनामालाई लापरबाही ढाकछोप गर्ने अभ्यासको रुपमा बुझिनु वा प्रयोग गरिनुले थप जटिलता पैदा गर्न सक्दछ।सबैले बुझ्नुपर्ने सत्य के हो भने लापरबाही मन्जुरीनामा गराइएको वा नगराइएका सबै घटनामा उत्तिकै आकर्षित हुन्छ।बरु कतिपय अभ्यासमा मन्जुरीनामा नलिइनुलाई आफैंमा एउटा लापरबाही मानिन्छ।

प्रभावकारी सञ्चारले उचित परामर्श (काउन्सिलिङ) र अन्तरक्रियामार्फत मन्जुरीनामालाई उपचारको बारेमा दुबै पक्षको साझा अवधारणाको रुपमा विकास गर्न मद्दत गर्दछ।विरामी पक्षले समेत उनीहरु स्वयं उपचार प्रक्रियाको हिस्सा भएको अनुभव गर्न सक्ने हुँदा शंका,अविश्वास र दुविधा कम भई सफलता र असफलता दुबै अवस्थामा दायित्व बोध गर्ने र स्वास्थ्यकर्मीहरुले गरेको प्रयासलाई बुझ्ने अवस्था सिर्जना हुन्छ।समभाव, सम्मान र विश्वासको वातावरण  विकास हुन्छ।

नेपालका सन्दर्भमा प्रभावकारी सञ्चारको अभ्यास खासै प्रचलनमा नरहेको तथ्य पछिल्ला घटनाक्रम र जनगुनासाहरुबाट स्पष्ट हुन्छ।सरकारी स्वास्थ्य संस्थाहरुमा बिरामीको उच्च चाप र सिमित जनशक्तिका कारण यो अभ्यास चुनौतीपुर्ण बनेको छ भने निजी स्वास्थ्य संस्थाहरुको आर्थिक महत्त्वाकांक्षा यसको बाधक बन्ने गरेको पाइन्छ।भइरहेका अभ्यासहरुमा पनि एकरुपता देखिदैन।सरकारी संस्थाहरुको काउन्सिलिङ जाँच उपचार गर्न नपरोस् भन्ने किसिमले डराउन दिने खालको र निजी स्वास्थ्य संस्थाहरुको अभ्यास बिरामीलाई सकेसम्म जोखिम नबताउने र जसरी पनि परिक्षण उपचार गरिदिने खालको देखिन्छ।जसले गर्दा बिरामीहरुमा थप शंका र अविश्वास पैदा हुने गरेको छ।निजी स्वास्थ्य संस्थाहरुमा काउन्सिलिङका कारण बिरामीले परिक्षण र उपचार अस्विकार नगरुन भनेर आवश्यक जोखिम बताउन समेत वर्जित गर्ने गरिएको कटु सत्यलाई नजरअन्दाज गर्नु घातक सावित हुन सक्दछ।

स्वास्थ्य सेवा र सुविधाहरुको शुल्क एवं मुल्यमा पारदर्शिता,उपचार प्रक्रियाको स्पष्ट जानकारी र वैज्ञानिक एवं वैधानिक अभ्यासहरुको सुनिश्चितताको अभावका कारण उत्पन्न शंका र अविश्वास प्रभावकारी सञ्चारको माध्यमबाटमात्र हटाउन सम्भव छ।जसका लागि स्वास्थ्यकर्मीहरुमा व्यावसायिक मर्यादा र इमानदारीताका साथ साथै उपयुक्त नीतिनियमहरुको विकास र कार्यान्वयन अपरिहार्य छ।कतिपय आकस्मिक अवस्थाहरुमा विरामीको गम्भीर हालतका कारण प्रत्यक्ष  प्रभावकारी सञ्चार चाहेर पनि स्थापित नहुन सक्छ।यस्ता अवस्थामा सामाजिक संजाल र सञ्चार माध्यमहरु मार्फत अन्य समयमा प्रवाह गरिएका सूचना र विकसित चेतनाले काम गर्ने हुँदा आम सञ्चार माध्यमको भुमिका सदैव संवेदनशिल र निर्णायक हुन्छ।

हाम्रो स्वास्थ्य क्षेत्रमा बढ्दै गइरहेका विवाद र असुरक्षा राज्य,चिकित्सक,स्वास्थ्यकर्मी,स्वास्थ्य सेवा प्रदायक,सेवाग्राही ,राजनीतिकर्मी,सञ्चारकर्मी लगायत सम्पुर्ण आम जनताको साझा  चिन्ता र चासोका विषय हुन।त्यसैले हाम्रा स्वास्थ्य सेवाहरुलाइ बढी भन्दा बढी सुरक्षीत,गुणस्तरीय र सस्तो एवं सर्वसुलभ बनाउन सबैले मर्यादित र सकारात्मक भएर सक्दो योगदान गर्नुको विकल्प छैन।अन्यथा, स्वास्थ्यकर्मीहरुले आत्मसम्मान,मनोबल र साख गुमाउने छ्न,राज्यले उच्च  दक्षताको जनशक्ति गुमाउने छ र बिरामीहरुले अनाहकमा जीवन गुमाउने छ्न।अहिले हाम्रा नेताहरु उपचारका लागि बिदेश धाउछ्न, आमजनता घरखेत बेचेर पैसा कमाउन बिदेश जान्छ्न।भोलि हामी वा हाम्रा सन्तति घरखेत बेचेर उपचारका लागि बिदेश जानू पर्ने दिन नआओस्।

Last modified on 2017-08-13 12:04:08

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts