हेपाटाइटिसलाई कहिलेसम्म उपेक्षा गर्ने ?
कलेजो मानव शरीरको महत्वपूर्ण अंग हो । यसमा लाग्ने विभिन्न रोगमध्ये हेपाटाइटिस प्रमुख समस्या हो । हेपाटाइटिस भन्नाले कलेजोमा हुने सुजनलाई बुझिन्छ । हेपाटाइटिस रगतबाट र शारीरिक तरल पदार्थ सर्ने तथा फोहोर पानीबाट गरी दुई किसिममा विभाजन गरिन्छ । यसमध्ये हेपाटाइटिस ‘ए’ र ‘ई’ फोहोर पानीबाट सर्छ ।
गरिब र विकासोन्मुख देशमा विशेष गरी ढल निकास राम्रो नभएकोे, पानीका मुहान स्वस्थ नहुने भएकाले वर्षायाममा हेपाटाइटिस ‘ए’ र ‘ई’ बाट बर्सेनि धेरै मानिस प्रभावित हुन्छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’ रगतजन्य पदार्थ, शारीरिक तरल पदार्थबाट सर्ने गर्छ ।
के हो हेपाटाइटिस ‘सी’ ?
कलेजोलाई असर गर्ने भाइरसमध्ये हेपाटाइटिस ‘बी’ले बढी चर्चा पाउने गर्छ । तर, उत्तिकै मात्रामा कलेजोलाई असर गर्ने हेपाटाइटिस ‘सी’ बारेका चर्चा पाइँदैन । यस भाइरसबाट संक्रमित व्यक्तिहरू १० देखि १५ वर्षसम्म लक्षणरहित हुन्छन् । जब रोग देखापर्छ, त्यस समयमा धेरै ढिला भएको हुन्छ । अर्थात् उपचार गर्न नसकिने अवस्था रहन्छ ।
हेपाटाइटिस ‘सी’ रगतजन्य पदार्थ तथा शारीरिक तरल पदार्थबाट सर्ने गर्छ । नेपालमा हेपाटाइटिसका बिरामी लागू पदार्थ दुव्र्यसनीमा परेका व्यक्ति ९० देखि ९५ प्रतिशतमा संक्रमण गरेको पाइन्छ । हेपाटाइटिस ‘सी’बाट संक्रमित व्यक्तिले रक्सी पिउँदा गरेमा पाँचदेखि १० वर्षभित्र कलेजोको सिरोसिस हुन सक्छ । जुन व्यक्ति हेपाटाइटिस ‘सी’ भाइरस लिएर बाँचेका छन्, तीमध्ये ९५ प्रतिशतलाई आफूसँग यो रोग छ भन्ने नै थाहा हुँदैन ।
कसरी सर्छ ?
हेपाटाइटिस संक्रमित व्यक्तिको शारीरिक रसबाट सर्छ । शारीरिक रस भन्नाले रगत, वीर्य, योनीश्राव, ¥याल आदि पर्छ । साथै सिरिन्जबाट लागूऔषधि प्रयोग गर्ने व्यक्तिमा बढी जोखिम रहेको हुन्छ । हेपाटाइटिस ‘सी’ खाना तथा फोहोर पानीबाट भने सर्दैन ।
उपचार
धेरै व्यक्तिमा यो रोग एड्सभन्दा खतरनाक रोगका रूपमा बुझेका छन् । र, यसको उपचार छैन भन्ने गलत धारण रहेको छ । विगतमा सुइ र खाने औषधि प्रयोग गरिन्थ्यो । जुन उपचार धेरै महँगो थियो । हाल आएर साइड इफेक्टरहित औषधि सेवनबाट करिब एक लाख रुपैयाँमा यसको उपचार गरिन्छ ।
विश्वमा स्वास्थ्यमा काम गर्ने विभिन्न निकायले हेपाटाइटिसलाई महत्व नदिएको अवस्था पनि उत्तिकै छ । यस वर्ष हेपाटाइटिसलाई धेरै क्षेत्रमा महत्व दिएर हेरिएको छ । विश्व स्वास्थ्य संगठन जेनेभामा भएको सम्मेलनबाट पहिलोपटक रिजोलुसन (अध्यादेश) पास गरेको छ । हेपाटाइटिसलाई जनस्वास्थ्यको महत्वपूर्ण पक्षका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्न संगठनले हरेक राष्ट्रलाई निर्देशन पनि दिएको छ ।
त्यसैगरी, हेपाटाइटिस ‘सी’ करिब एक लाख २० हजारमा भएको अनुमान रहेको छ । नेपालमा कुनै व्यक्तिलाई दीर्घ हेपाटाइटिस ‘सी’ भएमा लिभर कडा भएर लिभर सिरोसिस वा लिभर क्यान्सर भएमा सरकारले एक लाख उपचार लागि सहयोग पनि दिने गरेको छ । हेपाटाइटिस ‘सी’को उपचार हाल आएर सजिलो भएको छ । करिब एक लाखमै यसको उपचार हुने अवस्था सिर्जना भएको छ । तर, सरकारले अझै निःशुल्क उपचार व्यवस्था भने गरेको छैन ।
नेपालमा हेपाटाइटिस ‘सी’ र एचआईभीलाई तुलना गर्ने हो भने करिब ३९ हजारको संख्यामा एचआईभीका बिरामी छन् र हेपाटाइटिस ‘सी’का एक लाख २० हजार छन् । एचआईभीमा सरकारले धेरै स्रोत साधनको खर्च गरेर नियन्त्रण गरेको छ । यसैगरी, हेपाटाइटिसलाई पनि महत्व दिएर देशका कर्णधार जनशक्तिलाई स्वस्थ रहन सहयोग गर्नुपर्छ । हेपाटाइटिस ‘सी’ पहिला धेरै खर्चिलो रोगका रूपमा लिइन्थ्यो । त्यसकारण बिरामीलाई उपचार गर्न गाह्रो थियो । तर, बिस्तारै समयक्रममा यसको उपचार सजिलो र कम खर्चिलो भएको छ । हेपाटाइटिस ‘सी’ पूर्ण रूपमा निको हुने सुनिश्चित रोगका रूपमा माानिन्छ ।
विश्व स्वास्थ्य संगठनको सन् २०१६ जेनेभामा भएको सम्मेलनबाट सन् २०२० सम्ममा हेपाटाइटिसका नयाँ बिरामी करिब ३० प्रतिशतले घटाउने र यसबाट हुने मृत्यु १० प्रतिशतले घटाउने उद्देश्य रहेको छ । अहिले संसारमा सरुवा रोगबाट मर्नेको संख्यामा सबैभन्दा बढी हेपाटाइटिस रहेको छ । हेपाटाइटिससम्बन्धी रोगबाट संसारमा सरुवा रोगमध्ये सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ ।
विश्वमा करिब चार करोड व्यक्ति हेपाटाइटिसबाट प्रभावित रहेका छन् । विश्वमा हेपाटाइटिसबाट हरेक दुई मिनेटमा एक व्यक्तिको मृत्यु हुन्छ भने हरेक वर्ष करिब १४ लाखको मृत्यु हुन्छ । हेपाटाइटिस ‘सी’को राम्रो उपचार पाउन सकेमा ९० प्रतिशतलाई तीनदेखि ६ महिनाभित्र पूर्ण रूपमा निको बनाउन सकिन्छ ।
यसकारण यति ठूलो महत्व भएको हेपाटाइटिसलाई राज्यले क्षयरोगभन्दा पनि कम महत्व दिएको छ । चिकित्सा पेसामा लागेका व्यक्तिमा समेत हेपाटाइटिससम्बन्धी चेतना कमी छ भने सर्वसाधारणमा नहुने कुरै भएन ।
उदाहरणका लागि सरकारले कन्डम लगाउनुस् एचआईभी एड्स भगाउनुस् भन्ने होडिङबोर्ड राखेको देखिन्छ । तर, त्यसमा कन्डम प्रयोग गर्नुस् एचआइभी एड्स तथा हेपाटाइटिसबाट बच्नुस् भनेर कतै लेखिएको पाइँदैन । यसकारण स्वास्थ्य मन्त्रालयले जुन होडिङबोर्डमा एचआईभी एड्सबाट बच्न कन्डम लगाउनू भनेको हुन्छ, तसर्थ कन्डम प्रयोग गरौं एचआईभी एड्स र हेपाटाइटिसबाट बचौं लेख्नुपर्छ ।
राज्यले गर्नुपर्ने प्रमुख काम हेपाटाइटिसलाई जनस्वास्थ्यका कार्यक्रमअन्तर्गत राख्नुपर्छ । रेडियो, पत्रपत्रिकाबाट एड्सलाई जसरी हेपाटाइटिसलाई पनि महत्व दिनुपर्छ । कतिपय अवस्थामा रुढीवादी, राम्रोसँग नबुझेको, कसैलाई हेपाटाइटइस ‘सी’ भने छिःछि र दुरःदुर गर्ने बानी छ । स्वास्थ्यकर्मीमा पनि हेपाटाइटिस बिरामीबाट टाढा बस्ने प्रवृत्ति रहेको छ ।
सरकारले गर्नुपर्ने काम
– हेपाटाइटिस ‘सी’ निको हुने रोग भएकाले यसका लागि विशेष महत्व दिएर राज्यले पनि हेपाटाइटिससम्बन्धी एउटा अलग्गै विभाग खडा गरेर हेपाटाइटिस ‘सी’लाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।
– हेपाटाइटिसलाई जनस्वास्थ्यका कार्यक्रमअन्तर्गत राखेर महत्व दिनुपर्छ । जसरी एचआइभी एड्सको अलग्गै शाखा रहेको छ ।
– यसको सचेतना विस्तार, परीक्षण र उपचारका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ ।
– जनचेतनाका कार्यक्रम जिल्ला–जिल्ला तथा गाउँ–गाउँसम्म प्रवाहित गर्नुपर्छ ।
– वीर अस्पतालमा रहेको लिभर युनिटलाई स्तरवृद्धि गरेर हेपाटाइटिसका बिरामीलाई धेरैभन्दा धेरै सेवा दिन सक्ने बनाउनुपर्छ ।
डा. शर्मा कलेजो रोग विशेषज्ञका साथै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारसमेत हुन् ।
Reporter
View Other Stories by Author >>