चिकित्सा परिषद् विधेयक समितिमा पठाउन स्वीकृत
काठमाडौँ, २ कात्तिक । व्यवस्थापिका– संसद्को आजको बैठकले चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक २०७२ लाई समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रधानमन्त्रीका तर्फबाट न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले सो विधेयक प्रस्तुत गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमाथि डा.सुबोध पोखरेल, रामनारायण बिंडारी र प्रेम सुवालले भाग लिएका थिए । ।
त्यस्तै वैठकले भूमिगत जलस्रोत विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सिँचाइमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सदनको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसैगरी बैठकमा परराष्ट्रमन्त्री डा महतले जीवाणुजन्य (जैविक तथा विषाक्त) हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने तथा तिनलाई नष्ट गर्नेसम्बन्धी महासन्धि प्रस्तुत गर्दा समितिमा पठाउनका लागि स्वीकृत भयो । सो महासन्धिलाई विश्वका १७५ देशले अनुमोदन गरिसकेका छन् ।
व्यवस्थापिका–संसद्को अर्को बैठक यही कात्तिक ३ गते अपराह्न ३ बजे बस्नेछ । रासस
Reporter
View Other Stories by Author >>