महिनावारी रोक्न आफूखुशी औषधि सेवन घातक
काठमाण्डौं, २ कार्तिक । पछिल्ला केहि बर्ष देखि नेपालि महिला हरुमा प्रजनन समस्या बढ्दो छ । स्त्रीरोग बिशेषज्ञहरुको सल्लाह बिनै आफु खुशी औषधि सेवन गर्ने प्रबित्तिले गर्दा स्त्रीरोग सम्बन्धि समस्या बढेको चिकित्सकहरुको निष्कर्ष छ । महिनावारी पर सार्ने गर्भपतन गराउने जस्ता औषधि चिकित्सकको सल्लाह बिना सेवन गर्नु घातक भएको भन्दै यसप्रति सचेत रहन चिकित्सकहरुले सल्लाह दिएका छन् ।
वयस्क महिलामा हरेक महिना हुने स्वभाविक प्रक्रिया महिनावारीलाई हामीकहाँ अन्धविश्वास र धार्मिक मान्यताहरुसँग जोडेर हेरिन्छ । महिनावारी हुँदा छोईछिटो गर्न नहुने, मन्दिर जान तथा पुजाआजा गर्न नहुने जस्ता अन्धविश्वासले गर्दा महिनावारी हुने दिनमा कुनै धार्मिक काम परे अथवा टाढा जानुपरे महिलाहरुले महिनावारी पर सार्ने औषधी खाने प्रवृत्ति बढ्दै गएको छ । तर चिकित्सकको सल्लाह बिना आफू खुशी यस्ता औषधि खानु घातक हुने स्त्रीरोग बिशेषज्ञहरुको भनाइ छ । महिनावारी पछाडि सार्न खाईने औषधी एक किसिमको हर्मोन वा स्टोरेड हो । महिनावारी रोक्न वा पर सार्न खाइने २ खालको औषधि हुन्छन्
एउटा प्रोजेस्टेरोन र अर्को कम्बाइन्ड । प्रोजेस्टेरोन अन्तर्गत नारइथिस्टेरोन भन्ने औषधि साधारणतया प्रयोग हुन्छ भने अर्को कम्बाइन्ड पिल्स हुन्छ जसमा स्ट्रोजेन प्रोजेस्टेरोन मिसाइएको हुन्छ । यी दुई थरिका औषधिहरु अहिले महिनावारि पर सार्न प्रयोग हुने औषधिको रुपमा बजारमा बिक्रीवितरण भइरहेको छ । महिनावारि पर सार्ने औषधि मुटुरोग भएका,पहिला जन्डिस भैसकेको ४० बर्ष नाघेका महिलाहरु र धुम्रपान गर्ने महिलाहरुले चिकित्सकको सल्लाह बिना प्रयोग गर्न नहुने चिकित्सकले बताएका छन् ।
औषधी खाएर पर सारिएको महिनावारीमा रगत धेरै बग्छ । कसैलाई कम बग्ने पनि हुन्छ । महिनावारी अनियमित भई १५ दिनमै हुने वा २ महिनासम्म नहुने पनि हुनसक्छ । त्यसैले यस्ता औषधीको प्रयोग गर्नु, समस्या निम्त्याउनु हो । तर नियमक निकायको उदासीनताका कारण यस्ता धेरै औषधिहरु बजारमा खुलेआम बिक्री भैरहेका छन् ।
आफू खुशी यस्ता औषधि सेवन गरेर रक्तश्राप नरोकिए पछि अस्पताल धाउनेहरुको संख्या निकै हुने गरेको चिकित्सकहरु बताउँछन् । यस्तो औषधिको अन्धधुन्द प्रयोगले कतिपय अवस्थामा महिलाहरुको ज्यानै जाने हुँदा महिलाहरु आफै यसप्रति सचेत हुन आवश्यक छ ।