अल्ट्रासाउण्डका बारेमा थाहा पाइराखौं
नेपाली जनबोलीमा “भिडियो एक्स रे“ भनेर चिनिने अल्ट्रासोनोग्राफी (यु.एस.जि) आधुनिक चिकित्सा विज्ञानको आँखा हो । विशेष ध्वनि तरंग (अल्ट्रासाउन्ड) मा आधारित यो प्रविधि पेट तथा कम्मर (पेल्भिस), रगतका नलिहरु, थाइरोइड ग्रन्थि, स्तन, हाडजोर्नी तथा मांसपेशी लगायतका विभिन्न अंग तथा नरम तन्तुहरुको परिक्षणका लागि व्यापक रुपमा प्रयोग गरिन्छ ।
कुनै हानिकारक विकिरण प्रयोग नहुने र कुनै पनि जोखिम नभएकाले यो जाँच गर्भवती महिला तथा गर्भाशयको बच्चाको लागि पहिलो रोजाईको रेडियोलोजिकल परिक्षण हो ।
अल्ट्रासोनोग्राफीका बारेमा बुझ्नै पर्ने केहि तथ्य र तयारीहरु निम्नलिखित छ्न।
१.अल्ट्रासोनोग्राफीका लागि सबैभन्दा ठूलो सिमितता र बाधक ग्यास वा हावा हो । किनकी हावा र नरम तन्तुको सतहबाट अल्ट्रासाउन्ड तरङ्ग लगभग सम्पुर्ण रुपमा परावर्तित हुन्छ । त्यसैले फोक्सो जस्ता हावा भरिएका अंगहरु र हावा भरिएका संरचना पछाडी पर्ने अङग तथा तन्तुहरुको परिक्षणका लागि यो प्रविधि अनुपयुक्त हुन्छ ।
२.अल्ट्रासाउन्ड गर्दा प्रयोग गरिने अर्धतरल पर्दाथलाई अल्ट्रासाउन्ड जेलि भनिन्छ । यो जेलिको काम अल्ट्रासाउन्ड प्रोब (ध्वनी तरङ्ग पठाउने र प्राप्त गर्ने उपकरण) र छाला विचको हावालाई विस्थापित गरि अल्ट्रासाउन्ड तरंगको प्रवेशका लागि माध्यम प्रदान गर्नु हो ।
३.पेट तथा कम्मर (पेल्भिस)को अल्ट्रासाउन्ड जाँचका लागि कम्तिमा ६ घन्टा खाली पेट बस्नु बस्नु पर्ने हुन्छ । खाली पेट बस्नुपुर्वको खाना सकेसम्म ग्यास नबनाउने हल्का किसिमको र बोसोरहित हुनुपर्छ ।
४.मृगौला, पिसाब नलि तथा पिसाब थैली र पिसाब थैलि वरिपरिका अन्य अंगहरुको परिक्षणका लागि जाँच गर्नुपुर्व करिब एक लिटर पानी पिइ पिसाब रोकेर राख्नु पर्ने हुन्छ ।
नोट: नेपालमा पेट तथा कम्मरको अल्ट्रासाउन्ड जाँच गर्दा कलेजो, पित्तथैली,फियो, मृगौला, पिसाब नलि, पिसाब थैली र त्यस वरपरका अंगहरुको परिक्षण एकसाथ गरिने भएकाले पेट तथा कम्मर भागको अल्ट्रासाउन्ड जाँच गर्दा कम्तिमा ६ घण्टा खाली पेट बसि जाँचपुर्व मनग्गे मात्रामा पानी पिइ पिसाब च्याप्ने गरि पिसाब रोकेर राख्नुपर्दछ । वर्जित गरिएको विशेष अवस्था बाहेक अन्य अवस्थामा प्यास अनुसार सादा पानी पिउन सकिन्छ ।
५.साधारणतया गर्भवती महिलाको परिक्षण गर्दा कुनै विशेष पुर्व तयारीको आवश्यकता पर्दैन । तर गर्भावस्थाका पहिलो ३/४ महिना र विशेष अवस्थामा पानी पिइ पिसाब चाप्नु जरुरी हुनसक्छ ।
६.रगतका नलिहरुको अल्ट्रासाउन्ड परिक्षण (डोप्लर अल्ट्रासोनोग्राफी)का लागि कुनै थप तयारीको आवश्यकता पर्दैन । तर पेट तथा कम्मर भागमा पर्ने रगतका नलिहरुको जाँचका लागि सो भागका आवश्यक पर्ने तयारीहरु गर्नुपर्दछ ।
७.थाइरोइड ग्रन्थी, स्तन, अण्डकोष, हाडजोर्नी तथा मासपेशीहरुको अल्ट्रासाउन्ड परिक्षणका लागि कुनै विशेष तयारीको आवश्यकता पर्दैन ।
८.आकस्मिक अवस्था र स साना बालबालिकाहरुको सन्दर्भमा कुनै तयारी नगरि अल्ट्रासाउन्ड गर्ने चलन छ । साना बालबालिकाहरुका अल्ट्रासाउन्ड गर्न जाँदा बच्चालाई फकाउने सामाग्री तथा खेलौनाहरु लिएर जाँदा जाँच सहज हुन्छ ।
९.अल्ट्रासाउन्ड गराउन जादा परिक्षण गर्ने भागको सजिलै जाँच गर्न मिल्ने खालका खकुला पहिरन लगाएर जानुपर्दछ । पहिले भएका जाँचहरुको रिपोर्ट पनि बोकेर जाने, जाँच पुर्व र जाँचका दौरान दिइएका निर्देशनहरुको पालना गर्ने र सोधेका प्रश्नहरूको सहि सहि उत्तर दिने गर्नुपर्दछ ।
फाईल तस्वीर/एजेन्सी
Reporter
View Other Stories by Author >>