पर्सामा पनि स्क्रब टाइफस



Download our app to get more features

पर्सा, ३० असोज ।  पर्सामा पनि स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका छन् । सदरमुकाम वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा यो संक्रमण भएका ४ बिरामी भर्ना भएका छन् । अस्पतालका बाल रोग विभागका चिकित्सक डा. अतिन्द्र मिश्रका अनुसार उपचारार्थ भर्ना भएकामा पर्साका २, बारा र रौतहटका १/१ बिरामी छन् । पर्सा अलौंका ११ वर्षीय बालक मंगलबार भर्ना भएका हुन् । भने पोखरियाका ८ वर्षीय बालकलाई बुधबार राति आईसीयूमा भर्ना गरिएको हो । 

रौतहट भगतपुरका ६ वर्षीय बालक पनि बुधबारदेखि आईसीयूमै छन् । बारा निजगढकी १८ वर्षीया किशोरीको जनरल वार्डमा राखेर उपचार भइरहेको छ । असार यता नेसनल मेडिकल कलेजमा स्क्रब टाइपसका २९ बिरामी भर्ना भएका छन् । २९ मध्ये २७ जना नाबालक छन् । यस सिजनमा अस्पतालमा उपचारका लागि ल्याइएकामध्ये रौतहट धरमपुर ४ की बालिकाको साउन १३ गते मृत्यु भएको थियो । दुई बिरामीलाई उनीहरूका अभिभावकले उपचार सम्भव नभएपछि घर फिर्ता लगेका थिए । असार अन्तिम सातादेखि बिरामी आउने क्रम बढेको र हालसम्म जारी रहेको डा. मिश्रले बताए । 

उपचारका लागि ल्याइने गरिएका अधिकांश बिरामी बालबालिका ६/७ देखि १३/१४ वर्ष उमेर समूहका छन् । बिरामीहरू पर्सादेखि सर्लाहीसम्मका छन् । पछिल्लो समय बिरामी आउने क्रम घटदै गएको डा. मिश्रको अनुभव छ । असोज लागेपछि चिसो बढदै जाने भएकाले यो रोगका बिरामी पनि कम हुँदै गएको हुन सक्ने उनले बताए । ‘गर्मीको तुलनामा चिसो मौसममा अधिकांश व्यक्ति घर बाहिर नबस्ने र जाडो छल्न न्यानो लुगा लगाउने गर्नाले यो रोग लगाउने भुसुनाले टोक्ने मौका कम पाउँछ,’ उनले भने, ‘प्राय: असोज/कात्तिकदेखि यो रोगका बिरामी घटछन्, फेरि अर्को सिजनको गर्मी सुरु भएपछि बिरामीको संख्या बढ्न थाल्छ ।’

आजको कान्तिपुर दैनिकमा पर्साबाट शंकर आचार्यले लेखेको समाचार छ । 

Last modified on 2017-08-13 17:40:14

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts