तत्काल चिकित्सक नभेटिए…



Download our app to get more features

सानातिना तर आकस्मिक रूपमा जोकोहीको पनि स्वास्थ्यमा असर पर्न सक्छ ।

 अझ चाडबाडको समयमा खाना, जीवनशैली र तनावका कारण पनि समस्या देखिन सक्छ । दसैँको वेला कतिपय घरदेखि टाढा पुगेका हुन्छन् । त्यस्तो वेलामा अस्पताल स्वास्थ्य संस्था पुग्न तत्काल सम्भव हुँदैन । त्यस्तो अवस्थामा हामी आफ्नै वरिपरि उपलब्ध साधनद्वारा उपचार गर्न सक्छाँै । यस आलेखमा केही आकस्मिक बिमारी र उपचार विधि उल्लेख गरिन्छ ।

रुघा–खोकीमा
रुघा लागेपछि सिँगान बगिरहने, नाक टालिने, सास फेर्न गाह्राे हुने हुन्छ । कफ जमेको छ भने छाती गह्रौँ हुन्छ र खोकी लागिरहन्छ । यस्तो अवस्थामा बिहान हिँड्ने वेला या बेलुकी सुत्ने बेलामा श्वासप्रश्वासको क्रममा बाफ लिने गर्दा नाक टालिएको खुल्छ र कफ फुटेर निस्कन सहज हुन्छ । यदि पिनास छ भने हाछ्युँ गर्दा आफ्नै नाकमा कुनै दुर्गन्ध आउँछ । यस्तोमा पनि पानीको बाफले आराम गर्छ । तातो पानी पिइरहने, तातो रसदार खानेकुरा खाने, गर्नुपर्छ । जाँडरक्सी, तारेको मासु वा दुग्ध पदार्थले कफ बढाउने हुनाले यी चिज पनि रुघा–खोकीको वेलामा नखानु उचित हुन्छ । यस्तो वेलामा अदुवाको रस र मह आधाआधा मिलाएर ठूलो एक चम्चा बिहान–बेलुकी खाएमा आराम मिल्छ । नीन केस्रा लसुन पिसेर एक ठूलो चम्चा महमा १२ घन्टा राखी बिहान–बेलुकी खाने गर्दा पनि रुघा–खोकीमा राम्रो हुन्छ । मह र कागतीको रस मिलाएर पिउनाले पनि लाभ हुन्छ । एक चिया चम्चाभन्दा कम अदुवा, तुलसीको पात वा तुलसीको रस, एक चियाचम्चा पिसेको अदुवा पकाएर पिउँदा आराम हुन्छ । खोकीमा बेसार निकै आरामदायी हुन्छ ।

ज्वरो आएमा  
बच्चा भएको घरमा सधैँभरि पारासिटामोल औषधि राख्नु उपयुक्त हुन्छ । बच्चालाई सय डिग्री फरेनहाइटभन्दा माथिको ज्वरो आएमा एक चक्की पारासिटामोलको झोल सवस्थ्यकर्मीको सल्लाहअनुसार (औषधि एक चिया चम्चाभरि) खुवाउनुपर्छ । यो औषधि आठ–आठ घन्टामा दिइरहनुपर्छ । ज्वरो आउँदा पातला लुगा लगाउनुपर्छ । बच्चा या वृद्धवृद्धा सबैलाई यही विधि अपनाउनुपर्छ । बच्चालाई १०१–१०२ र बयस्कलाई १०४–१०५ डिग्री छ भने चिसो पानीमा भिजाएको सुती कपडाको पट्टीले निधार ढाक्ने गरी राखिदिनुपर्छ । केही छिनपछि अर्को पट्टी फेर्नुपर्छ । हत्केला र पाइतालामा पनि चिसो पट्टीले पुछिदिनुपर्छ । पंखाले हम्किदिनुपर्छ । कोठामा खुला हावा र प्रकाश आउन दिनुपर्छ, तर जाडोमा चिसो हावा (स्याँठ) बाट जोगिनुपर्छ । पानी पिउन र रसदार खानेकुरा दिनुपर्छ । ज्वरो आउँदा कागतीपानी खान दिन सकिन्छ । तर, चिल्लो खाने कुराले तापक्रम बढाउने हुनाले दिनु हुँदैन । भुटेको, तारेको खानेकुरा, दही–मही उपयुक्त मानिदैन । ज्वरो उत्रेको संकेतमा शरीरमा चिटचिट पसिना आउँछ । ज्वरो झरेन भने शरीरमा अन्य कुनै बिमारी भएको हुनसक्छ । त्यसको कारण खोज्नुपर्छ । त्यस अवस्थामा ज्वरोको मात्र उपचार गरेर बस्नु हुँदैन, स्वास्थ्यसंस्था वा चिकित्सकसँग सम्पर्क गरिहाल्नुपर्छ ।

दाँत दुखेमा
दाँत दुख्नुले दाँतको क्षय भएको र यसको हेरविचार पुगेन भन्ने संकेत दिन्छ । हेरचाह नपुगेपछि विभिन्न कारणले चपाउने ठाउँमा खिएर खाल्टो पर्दै गएकोलाई हामी ‘कीराले खाएको’ भन्छौँ । दाँतका जरा खलबलिने वा असर पर्ने विभिन्न कारण छन् । गुलियो चिज दाँतलाई हानिकारक हुन्छ । गिजा सुन्निने, पाक्ने (पाइरिया) आदि समस्याले दाँत कमजोर बनाउँदै लैजान्छ । गिजा वा दाँतमा हुने संक्रमण (इन्फेक्सन) ले पनि दाँत कमजोर बनाउँछ ।

दाँत दुखेको छ र आधुनिक उपचारको कुनै उपाय नभएमा राति सुत्ने बेलामा तीन–चारवटा ल्वाङ मुखमा हालेर चपाउने, तर त्यसको रस नथुक्ने वा ननिल्ने, मुखमै लिइरहने, दाँत र गिजातिर घुमाउने अभ्यास गर्ने । ल्वाङको पिरोले आँखाबाट आँसु नै आउला, तर सहने । १० मिनेटपछि सो रस फालिदिए हुन्छ । त्यसपछि पानी पनि नखाई सुत्ने । बिहान उठ्दा दुखाइ हटिसकेको हुन्छ । ल्वाङ्को तेल भए दुखेको ठाउँमै पर्ने गरी दुई थोपा हाल्ने । एक गिलास तातो पानीमा एक चिया चम्चा नुन घोलेर दाँत कुल्ला गर्ने, घाँटी ठाडो पारेर मुखको पछिल्लो भागमा पानी पुर्‍याएर सेक्दा दाँतलाई राहत पुग्नुको साथै घाँटीको एलर्जी र खसखसाहट पनि हराउँछ । तोरीको तेल, नुन र बेसार बराबरी मिलाएर दाँतमा दलेर एक घन्टाजति राख्न सकियो भने दन्तहर्सा (पाइरिया) निको हुन्छ । खानेकुरा चपाउनुबाहेक कुनै कुरा काट्न, प्याकिङ् खोल्नजस्ता काममा दाँतको दुरुपयोग गर्नु हुँदैन । धेरै चकलेट, टफी, आइसक्रिम खाने गर्दा दाँतलाई असर पुग्छ । दाँत र गिजाको अवस्था हेरी टुथपेस्ट र ब्रस उपयोग गर्नुपर्छ । दाँत दुखिरहन्छ भने कडा ब्रस नचलाउने । संवेदनशील दाँतलाई राम्रा टुथपेस्ट पनि पाइन्छन् । बिहान र बेलुकीको खाना खाएपछि नियमित रूपमा दाँत माझ्ने गरेमा दाँतको बिमार धेरै हदसम्म हट्छ ।

नयाँ पत्रिका दैनिकबाट

Last modified on 2017-08-13 17:42:19

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts