सरकारी अस्पतालमा आफ्नै औषधि पसल हुने



Download our app to get more features

काठमाडौँ, असोज ३० गते ।  अब सरकारी अस्पतालमा आफ्नो छुट्टै फार्मेसी (औषधि पसल) सञ्चालनमा आउने भएको छ ।  
स्वास्थ्य मन्त्रालयले अनिवार्य रूपमा अस्पताल आफैँले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पतालले अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नैपर्ने हुन्छ ।  यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालले अस्पताल परिसरमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन आदेश दिइसकेको छ ।  
यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्मेसी सञ्चालन गर्दा सेवाग्राही बढी पैसा तिरेर औषधि किन्न बाध्य भएका थिए ।  निजी फार्मेसीले सरकारी अस्पतालभित्र औषधि पसल राख्न अस्पतालका पदाधिकारीलाई कमिसन खुवाउने चलन थियो ।  सर्वोच्च अदालतले आदेश दिए पनि निजी फार्मेसीको दबाबमा सरकारी अस्पतालले आफ्नो छुट्टै फार्मेसी सञ्चालन गर्न सकेको थिएन । 
बिरामीले एउटै औषधिलाई फार्मेसीपिच्छे फरकफरक मूल्य तिर्नुपर्ने बाध्यता थियो ।   अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधिलगायत अन्य सामग्रीमा लिएको मूल्यभन्दा २० देखि ४० प्रतिशतसम्म छुट हुनेछ ।  
स्वास्थ्यमन्त्री गगन थापाले फार्मेसी निर्देशिका अनुसार सरकार मातहतका हरेक अस्पतालमा छ महिनाभित्र फार्मेसी सञ्चालन गर्न लागिएको जानकारी दिए।  मन्त्री थापाले केन्द्रीय अस्पतालमा ३० लाख, क्षेत्रीय अस्पताल २५, उपक्षेत्रीय अस्पताल २० र अञ्चल अस्पतालमा १५ लाख रुपियाँ बीउ पुँजीको रूपमा पठाइसकेको जानकारी दिए ।  यसैगरी जिल्ला अस्पताललाई कुल तीन करोड ४४ लाख रुपियाँ फार्मेसी सञ्चालनका लागि निकासा भइसकेको छ ।  
मन्त्री थापाले अस्पतालले छुट्टै फार्मेसी सञ्चालन गर्दा बिरामीलाई ठूलो राहत हुने बताउनुभयो ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले सरकारी अस्पतालमा फार्मेसी सञ्चालनका लागि कार्यक्रम तय गरेर बजेटसमेत पठाइसकेको जानकारी दिए ।  प्रवक्ता डोटेलले अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्दा बिरामीले चर्को मूल्यमा औषधि खरिद गर्नुपर्ने बाध्यता अन्त्य बताउनुभयो ।  उनले छ महिनापछि अस्पतालले फार्मेसी सञ्चालनमा आइसकेपछि अनुगमन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जानकारी पनि दिए ।  
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. गणेश गुरुङले हालसम्म अस्पतालभित्र आफ्नै फार्मेसी नरहेको जानकारी दिँदै सञ्चालनका लागि तयारी भइरहेको बताए।  “फार्मेसी सञ्चालनका लागि व्यवस्थापन हुँदैछ”, उपकुलपति डा. गुरुङले भने, “फार्मेसी सञ्चालनका लागि जनशक्ति नभएकाले हालसम्म अस्पतालले छुट्टै फार्मेसी सञ्चालनमा ल्याउन सकेको थिएन । ”

आजको गोरखापत्रमा सरोज ढुंगेलले लेखेकोे समाचार छ । 

Last modified on 2017-08-13 17:44:06

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts