कैलालीमा सरुवारोगको संक्रमण बढ्यो
कैलाली, २९ असोज । सेती अञ्चल अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी अचानक बढेका छन् ।
दसैँ सुरु भएसँगै सेती अञ्चल अस्पतालमा मात्रै दैनिक २ सयको हाराहारीमा रुघा खोकी र ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको सेती अञ्चल अस्पतालले जनाएको छ । दसैँको समय परेकाले मानिसहरु विभिन्न ठाउँबाट गाडीमा ओहोरदोहोर गर्दा रोगको सङ्क्रमण फैलिएको हो ।
दैनिकजसो ज्वरो, डेङ्गु र स्क्रब टाइफसका बिरामी गरी जम्मा १५० बिरामी आउने गरेका र तिनीहरुमध्ये अधिकांश ज्वरोका बिरामी बढी देखिएका सेती अञ्चल अस्पतालका इमर्जेन्सी कक्षका इन्चार्ज कृष्णबहादुर बोहराले जानकारी दिएका छन् । मौसम परिवर्तन र चाडपर्वका बेला मानिसहरुको ओहोरदोहोर सुरु भएपछि अचानक रुघा खोकी र ज्वरोका बिरामी बढेका अस्पतालले जनाएको छ । रासस
Last modified on 2017-08-13 17:48:28
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।