सुदूरपश्चिममा संस्थागत सुत्केरीको सङ्ख्या घट्दो



Download our app to get more features

बैतडी, २९ असोज । सुदूरपश्चिममा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा संस्थागत सुत्केरीको सङ्ख्या घटेको छ । 

आव २०७१÷७२ मा सुदूरपश्चिममा संस्थागत सुत्केरी हुनेको सङ्ख्या ६६ प्रतिशत रहेकामा गत आव २०७२÷७३ मा ६३ प्रतिशत रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले दिपायल डोटीले जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको लक्ष्य बढी भएको र गर्भवतीको सङ्ख्या कम भएकाले पनि संस्थागत सुत्केरीको सङ्ख्या कम भएको देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकृत वन्दना भट्टले जानकारी दिइन् । गत आवमा सबैभन्दा बढी अछाममा ७४ प्रतिशत र सबैभन्दा कम कैलालीमा ४२ प्रतिशत संस्थागत सुत्केरीको सङ्ख्या थियो । सुदूरपश्चिमका पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा संस्थागत सुत्केरीको सङ्ख्या कम रहेको पाइएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार गत आवमा डोटीमा ७३ प्रतिशत, बझाङमा ७० प्रतिशत, बाजुरामा ६८ प्रतिशत र कञ्चनपुरमा ५२ प्रतिशत संस्थागत सुत्केरी हुनेको सङ्ख्या थियो । यस्तै डडेल्धुरामा ६८, बैतडीमा ६६ र दार्चुलामा ५८ प्रतिशत संस्थागत सुत्केरीको सङ्ख्या रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षेत्रीय क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिए । 

संस्थागत सुत्केरी र गर्भजाँच गराउनेको सङ्ख्या केही बढी भए पनि सुत्केरीपछि जाँच गराउनेको सङ्ख्या सुदूरपश्चिमभरि न्यून छ । सुत्केरी भएको २४ घन्टा, तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने भए पनि त्यस्तो जाँच गराउनेको सङ्ख्या २९ प्रतिशत मात्रै रहेको पाइएको छ । सुत्केरी भएपछि न्वारान नहुँदासम्म बाहिर जान नहुने परम्परासुत्केरीपछि जाँच गराउनेको सङ्ख्या कम हुने मुख्य कारण रहेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य संस्था पनि नजिक नहुँदा सुत्केरीपछिको जाँच गराउनेको सङ्ख्या कमी हुने गरेको छ । रासस 

Last modified on 2017-08-13 17:54:17

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts