‘प्लास्टिक सर्जरी गराउन पाए....’
काठमाण्डौ, २९ असोज । जिल्लाको भित्री गाउँ गोठगाउँ ६ मा ज्यलादारी दैनिकी बिताउँदै आएका एक सार्की दम्पतीको जीवनमा बितेका आठ वर्षयता चिन्ताको एउटै विषय छ– छोरीको दायाँ खुट्टो ।
छोरी रोश्ना जन्मेको ६ महिनामै घरभित्रको अँगेनोमा परिन् । घुँडादेखि मुनि पैतालासम्मै डढेकी छोरीको उपचार गराउन कृष्णकुमारी सार्की घटना लगत्तै मन्थलीसम्म पुगिन् । मन्थली अस्पतालमा आगोले पोलेको खुट्टाको सामान्य उपचारपछि भनिएछ– घरमै लगेर राम्ररी सेकताप गर ।
छोरी हुर्कँदै गई । नजिकको सरकारी स्कूल जान सक्ने पनि भई । तर, दायाँ खुट्टोको तल्लो भाग एएटा सिधा लठ्ठी जस्तो भइदिएपछि हुर्कँदो उमेरसँगै हिँडडुल गर्न अहिले निकै मुस्किल पर्न थालेको छ । ‘मैले एकपटक मन्थलीसम्म लगेकी हुँ । बनेपा अथवा काठमाण्डौ लैजानुपर्छ भन्ने पनि थाहा भएन’ आमा कृष्णाकुमारीले भनिन्, ‘फेरी अँगेनामा परेर डढेको खुट्टो बनाउँदा बनिन्छ भन्ने पनि लागेन । अरुतिर गएर बुझन् खर्चको जोहो पनि भएन।’ गाउँमा मेलापर्म गर्दै र ८ वर्षीया छोरी रोश्नापछि ४ वर्षे छोरा दीपेश हुर्काउनमै तल्लीन रहेकी कृष्णाका श्रीमान् देवबहादुर मन्थलीतिर सडक ज्यामीको काम गर्छन । देवबहादुरले सुनाए, ‘एउटा प्लास्टिक सर्जरी भन्ने चिज हुन्छ रे, त्यो गर्न पाए छोरीले खुट्टा टेक्न सक्छे कि भन्ने लागेको छ ।’
बनेपाको हस्पिटल एण्ड रिह्याविटेसन सेन्टर फर डिस्एबल्ड चिल्ड्रेनले रोश्नाको खुट्टाको सर्जरी गर्न सक्ने भए पनि त्यहाँसम्म ‘रिफर’ गरिदिने पनि कोही नभएको स्थानीय रामहरी खत्रीले बताए ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
तस्विर/फाइल
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।