दक्षिणपूर्वी एशियामा टीबी रोगको अवस्था अझै गम्भीर

काठमाण्डौं, २८ असोज ।दक्षिण पूर्वी एशिया क्षेत्रमा टीबीको समस्या अनुमान गरिएभन्दा अत्यन्तै धेरै रहेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ ।
डब्लुएचओको दक्षिण पूर्वी एशिया कार्यालयले एक विज्ञप्ति जारी गर्दै दक्षिण पूर्वी एशियामा टीबी रोग गम्भीर समस्याका रुपमा रहेको भन्दै सबै राष्ट्र प्रमुख, दाता, नागरिक समाज र राजनीतिक पार्टीहरुलाई प्रभावकारी प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठन नयाँ तथ्याकं अनुसार विश्वमा सबैभन्दा बढि टीबी रोग देखिने यस क्षेत्रमा टीवी रोग बोझको रुपमा देखिदै गएको विज्ञप्तिमा उल्लेख छ ।
‘पहिले विभिन्न अध्ययनका आधारमा गरीएको अनुमान भन्दा तथ्याकंले निकै उच्च रहेको देखाएको छ । जसबाट यो रोग एक बोझको रुपमा स्थापित हुंदै गएको छ । दक्षिण पूर्वी एशिया क्षेत्रमा मृत्यु कारण संक्रामक रोग सबै भन्दा ठूलो छ । असामान्य दुख, गरिबि, अकाल मृत्यु जस्ता समस्या बढ्दै गएको छ । जुन विकासको बाधक हो ।’ विज्ञप्तिमा उल्लेख छ ।
दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले सन् २०३० सम्म दीर्घकालिन विकास लक्ष्य र सन् २०३५ सम्ममा विश्वबाट टीबी रोग शुन्यमा झार्न यस क्षेत्रमा हालैका वर्षहरुमा विशेष उपायहरु अवलम्बन गर्नुपर्ने बताएकी छिन् ।
टीबी रोगको परिक्षण र उपचारका लागी अत्याधुनिक उपकरणको प्रयोग गर्नुपर्ने, उपचार सुनिश्चित गर्नुपर्ने, समुदायमा आधारित उपचार पद्धति अवलम्बन गर्नुपर्ने सहितको एकिकृत टीबी कार्यक्रम सहित स्वास्थ्य प्रणाली अवलम्बन गरे लक्ष्य हासिल हुने विज्ञप्तिले औल्याँएको छ ।
Reporter
View Other Stories by Author >>