हेलिकप्टर गन्तव्यमा पुग्न नसक्दा गर्भवतीको मृत्यु

ताप्लेजुङ, २८ असोज । खराब मौसमका कारण हेलिकप्टर गन्तव्यमा पुग्न नसक्दा ताप्लेजुङमा एक गर्भवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ पापुङकी ४० वर्षीय पेमा शेर्पा रहेकी छिन् । गर्भवती लिन आएको मनाङ एअरको हेलिकप्टर खराब मौसमका कारण गन्तव्यमा पुग्न नसक्दा उनको गएराति करिब १ बजे मृत्यु भएको मृतकका काका नुर्पु शेर्पाले बताए।
पेमालाई लिन आएको हेलिकप्टर हिजो दुई पटक पापुङमा अवतरण गराउने प्रयास भए पनि खराब मौसमका कारण अवतरण नहुँदा उनको समयमा उद्धार हुन नसकेको बताइएको छ ।
पहिलो पटकको प्रयास विफल भएपछि हेलिकप्टर खोक्लिङमा अवतरण भएको थियो भने दोस्रो पटक पनि गन्तव्यमा अवतरण नहुँदा सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको प्राङ्गणमा राखिएको थियो । तर खराब मौसमकै कारण त्यहाँबाट पनि बिहान उडान हुनसकेन ।
यसरी समयमा उपचार नपाउँदा यस जिल्लाका दुर्गम क्षेत्रमा बर्सेनि गर्भवतीको ज्यान जाने क्रम रोकिएको छैन । फाइल तस्विर
रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>