प्राकृतिक अस्पताल बनाउन महायज्ञ

रामपुर (पाल्पा), २८ असोज । पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीको उत्तरवाहिनी क्षेत्र महालिङ्गधाम मालुङ्गा, हुँगीमा नेपाल महिमा एवम् श्री कालीगण्डकी ज्ञानविज्ञान गीता महायज्ञ बिहीबारदेखि सुरु भएको छ ।
प्राकृतिक अस्पताल र आधुनिक गुरुकुल निर्माण गर्ने उद्देश्यका साथ महायज्ञ सुरु गरिएको हो । महायज्ञमा पवित्र कालीगण्डकीको एक हजार आठ शालिग्राम प्रदर्शन गरिएको छ भने २१ करोड लाखबत्ती बाल्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । महायज्ञमा एक लाखभन्दा बढी भक्तजन भित्र्याउने लक्ष्य रहेको सचिवालय सदस्य पदम् अर्यालले बताए । महायज्ञको पहिलो दिन बिहीबार तीन लाख रुपैयाँ बराबरको दान सङ्कलन भएको र पाँच हजार भक्तजनले दर्शन गरेको अर्यालले बताए ।
महायज्ञमा दान दिन कसैलाई पनि दबाब नदिइने र स्वेच्छाले श्रद्धालु भक्तजनले दान सङ्कलन गर्न पाउने व्यवस्था रहेको आयोजकले जनाएका छन् । आगामी कात्तिक ७ गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित श्री चैतन्य कृष्णजीले सङ्गीतमय शैलीमा कथावाचन गर्नेछन् । रासस/फाइल तस्विर
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।