सबैका लागि : मानसिक प्राथमिक उपचार
सन्दर्भ : मानसिक स्वास्थ्य दिवस
डा. धनरत्न शाक्य
बिचलित र अस्वस्थ मानसिक अवस्था र मनोरोगमा मानव मूल्य र सम्मान कायम राख्नु चुनौतीपूर्ण छ । यस कुराको महसुस विश्वव्यापी रुपमा हुँदैछ । मानसिक समस्या र मनोरोगको रोकथाम, उपचार र पुनस्र्थापन लगायत् मनोस्वास्थ्यको प्रवद्र्धनमा सम्मानजनक पहुँचको अवधारणालाई सन् २०१५को विश्व मानसिकस्वास्थ्य दिवसले अंगीकार गरेको हो । सम्मानजनक र मर्यादापूर्ण मानसिक स्वास्थ्यका लागि विश्वव्यापी रुपमा जागरण, प्रयास र पैरवीको अभियानको सिलसिलामा यस वर्ष सन् २०१६ मा सम्मानजनक मानसिक स्वास्थ्य हेतु ‘सबैका लागि मानसिक स्वास्थ्यको प्राथमिक उपचार’ भन्ने नाराका साथ मानसिकस्वास्थ्य दिवस मनाइँदैछ । नेपाल र हामी नेपालीको वर्तमान बस्तुस्थिति र यथार्थतालाई नियाल्दा यो अवधारणा नेपाल र यस्तै अवस्थाका मुलुकहरुका लागि नै अगाडि ल्याइएको हो जस्तो लाग्छ ।
बिनासकारी भुकम्प र मानसिक प्राथमिक उपचारः
गत वर्ष सन् २०१५को बिनासकारी भुकम्प र त्यस उपरान्तका पराकम्पहरुले नेपाल र नेपाली जनजीवन नराम्ररी प्रभावित भयो । अहिले पनि त्यसको प्रभाव प्रतक्ष्य भोगिरहेका छौं । धेरैको ध्यान शारिरीक क्षति, मृत्यूसंख्या र भौतिक खतिमा केन्द्रित रह््यो । यस्तो तनावको बेलामा तनाव बहनका लागि सबै सचेत हुनुपर्ने । पीर, चिन्ता र बेचैनीले गर्दा उल्टो धेरै मानिस सुत्नसकेनन् र राति पनि सुतेनन् । प्यास लागेन र चाहिने जति पानी र झोलकुराको सेवन गरेनन् । भोकको ख्याल रहेन । कतिपय मानिसले नियमित खाइरहेको दवाइ समेत भुलेर टुटाए । उच्चरक्तचाप, मधुमेह, लगायत मनोरोग अनियन्त्रित हुँदा अझ अरु समस्या थपिए । भुकम्पमा शारिरीक रुपले सुरक्षित रहेका कतिपय मानिस मृत फेला परे ।
हाम्रो समाजमा मानसिक रुपले बिचलित र अस्वस्थ मानिसहरु यति देखा परे कि पहिलेपहिले मानसिक भन्ने शव्द सुन्नसम्म हिच्किचाउनेहरु यसबारे जान्न, सुन्न र बुझ्न लालायित देखिए । यस मनोचिकित्सक लेखकबाट भक्तपुरका प्रतक्ष्य भुकम्प प्रभावित मानिसहरुमा भुकम्प लगतै भएको एक सर्वेक्षणले ५०% भन्दा बढीमा कुनै न कुनै मानसिक लक्षण र समस्या भएको देखायो । आमसञ्चारमा पनि मानसिक समस्या र तनावबारे सामग्रीहरु औसतभन्दा बढी देखापरे । यो बेला आम रुपमा मनोरोग र तनावको बेला अपनाउन सकिने प्रारम्भिक उपाय र प्राथमिक उपचारबारे जानकारी र सजगताको कमि रहेको प्रष्ट भयो । लगभग सबैजसो मानिस यो विपद र तनावको सामना गर्न तयारी हाल्मा रहेनछन् । विपद, बिनास र तनाव कतिपय बेलामा मानिसको बस्मा हुँदैन । तर त्यस्तो बेलामा क्षति न्यूनीकरण गर्न के गर्न सकिन्छ भन्ने उपायहरुबारे सजग रहन सके हामी र हाम्रो समाजलाई पर्ने असरको व्यवस्थापन सहज बन्नजानेछ ।
तनाव बहन र मनोवैज्ञानिक प्राथमिक उपचारः
मानव जीवन र समाज तनावको सिलसिलामा अगाडि बढ्नेगर्छ । भुकम्प जस्तै बाढी, पहिरो, असिना, हावा हुरी, आदि जस्ता प्राकृतिक प्रकोपबाट मानवजाति पहिलेदेखि नै पिडित हुँदै आएको हो । समाजमा व्याप्त बिसंगति, कुरीति, उँचनीच, छुवाछुट, उत्पीदन, भ्रष्टाचार, बिखण्डन, अज्ञानता, भ्रष्टाचारले जीवन एकातिर तनावपूर्ण रहन्छ भने अर्कोतिर घर, परिवार र व्यक्तिगत रुपमा आइपर्ने दुर्घटना, रोगव्याधि, मृत्यू, बिछोड, असमझदारी, कलह, दुव्र्यवहार, धोका, हत्या, हिंसा, आतंक, अभाव, हानी, बेरोजगारी जस्ता घटना, प्रसंग, पिरचिन्ताले मानवजीवनलाई जकडेको देखिन्छ । यस्तोमा मानसिक आघात, चोट, पिडा, अस्वस्थताले जोकोहि पनि जहिले पनि मानसिक रुपले बिचलित र अनियन्त्रित हुनसक्छ । वर्तमान विश्वमा हत्या, हिंसा, आतंक र अन्य तनाव तुलनात्मक रुपले बढ्दै गएको परिस्थितिमा मानसिक समस्या र अस्वस्थताको मार पनि बढ्दैगएको तथ्य अगाडि आएको छ । तनावको पृष्ठभूमिमा मानसिक समस्या देखिएमा समयमै पहिचान गरी प्राथमिक उपचार गर्न सकिएमा सम्भावित जटिलताहरु कम भएर जाने पनि देखिएको छ ।
मानसिक समस्या र रोग अनि मानसिक प्राथमिक उपचारः
विश्वमा मानसिक समस्याको मार लगभग १५ देखि २५ प्रतिशत मानिसमा हुने भनिएपनि हाम्रो जस्तो परिस्थितिमा बढी नै होला भन्ने लाग्छ । सामान्यतया एक वर्षमा २०–३०% मानिसमा र २० वर्षको अवधिमा ५०–७०% मानिसमा कुनै न कुनै मानसिक समस्या हुने कुरा एक अमेरिकी अध्ययनले देखाएको छ । छट्पटी (एन्जाइटी), उदासिनता (डिप्रेसन), मद्य र अन्य मादक पदार्थको लतले अक्सर टाउको जिउ भारी हुने, कम्मर दुख्ने, नातागत र कमजोर महसुस हुने, निद्रा नलाग्ने जस्ता भ्रामक लक्षणहरु सहित धेरै मानिसलाई सताइरहेको हुन्छ । कम कडा खालका यी मानसिक समस्या र रोगले धेरै मानिसलाई सताउनेगर्छ । लक्षण र अरु आवश्यक जानकारीको अभावमा पहिचान नहुँदा, प्रारम्भिक उपाय र प्राथमिक उपचार नपाएर, मानसिक रोग भन्नासाथ हेय हुने डरले ढाकछोप गर्दा र उपयुक्त उपचार नभएर समाजमा मानसिक समस्याबाट असक्त हुने, विकलांग वा असमर्थ हुने, रोग पछि अझै कडा बन्ने, अरु शारिरीकरोगको ख्याल नगर्ने, आत्महत्या र मृत्यूको दर समेत बढ्ने देखिएकोछ । समाजमा १–२% मानिसमा पागलपन, बाइपोलर, कडा खालको डिप्रेसन, मस्तिस्कको चोटबाट उव्जिने समस्या जस्ता कडा मानसिक रोगहरु पनि हुन्छन् । यस्ता रोगहरुको प्रारम्भिक चरणमै पहिचान गरेर प्राथमिक उपचार गर्नसके धेरै जटिलताहरु कम गर्न सकिने देखिन्छ ।
आत्महत्या र मानसिक प्राथमिक उपचारः
समाजमा व्याप्त मानसिक समस्याहरुको उपयुक्त उपचार नहुनाले, तनावको उचित व्यवस्थापन नहुनाले र नशालु पदार्थको व्यापक प्रयोगले गर्दा आत्महत्याको समस्या पनि उल्लेख्य बन्दै गएको छ । आत्महत्याका खतरासुचक लक्षणहरुको समयमै पहिचान गरी उपयुक्त उपाय र प्राथमिक उपचार अपनाउन सके धेरै हदसम्म यो समस्या घट्ने देखिन्छ ।
साथै, दैनिक जीवन र परिस्थितिमा केहि समयका लागि उत्तेजना र तनावमा आएर बिचलित हुने अवस्था पनि आउनेगर्छ । यस्तो बेला कसरी शान्त रहने र परिस्थिति सम्हाल्ने भन्ने कुराको महत्व पनि कम हुँदैन । शारिरीक चोट, रोग र समस्याहरुमा प्राथमिक उपचारको ठूलो महत्व भएजस्तै मानसिक आघात, चोट वा समस्याहरुमा पनि समयमै पु¥याइएको प्राथमिक उपचारको महत्व सिद्ध भएको छ ।
सबैको लागि– मनोवैज्ञानिक र मानसिक प्राथमिक उपचारः
जहाँ मन छ, मानसिक बिचलन र समस्या हाम्रा घरपरिवार, समाज, छरछिमेक, विद्यालय, क्याम्पस, कार्यस्थल, यातायात प्रणाली, सुपरमार्केट, मल, शहरबजार, सामुहिक स्थल, मिलिटरी, प्रहरी, स्वास्थ्यसंस्था, अस्पताल, मन्दिर, गुम्बा, मस्जिद् जहाँ पनि आइपर्नसक्छ । त्यसैले, के आम मानिस, के शिक्षक, विद्यार्थी, के परिवारजन, नातागोता, साथीभाई, के सेवाग्राही, सेवाप्रदायक, के धर्मगुरु, भक्तजन सबैसबैलाई यस्तो मानसिक आघात, चोट, बिचलनको अवस्थामा प्राथमिक उपचारको आवश्यकता पर्नसक्छ । अब, हामी सबै आम जनता, सेवा प्रदायक (पारामेडिक, चिकित्सक, अरु स्वास्थ्यकर्मिहरु) लाई मनोवैज्ञानिक र मानसिक उपचारको जीवन रक्षाको जानकारी, कला वा तालिम आवश्यक भएको छ ।
यस वर्षको मानसिक दिवसले विश्वस्तरमा हामी सबैलाई मानसिक रुपले बेचैनीमा रहेका मानिसलाई शारिरीक चोटपटकमा जस्तै कसरी आधारभुत मनोवैज्ञानिक तथा मानसिक स्वास्थ्य प्राथमिक उपचार प्रदान गर्ने भनेर सिक्न आव्हान गरेको छ । मानसिक रुपले अस्वस्थ मानिसको पनि सम्मान र आवश्यक व्यवस्थापनको लागि त्यस्तो बेला हुनसक्ने बिभेद र दुव्र्यवहारको अन्त्यका लागि जागरुक हुनुपरेकोछ । यसका लागि आम मानिसलाई सचेत, सबल र सक्षम बनाउने द्येय बोकेको छ यस नाराले । त्यसैले, जसरी शारिरीक चोटपटक र आघातमा काम्रो, पट्टी, सासप्रस्वास आदि भन्ने प्राथमिक उपचार भने जस्तै अब मनोसामाजिक साथसहयोग, मनोपरामर्श आदि भन्ने अवधारणा सहितको मनोवैज्ञानिक र मानसिक स्वास्थ्यको प्राथमिक उपचारबारे पनि व्यक्ति, समाज, रेडक्रस जस्ता संस्थाहरुले एकवद्ध भएर अभियान गर्न आवश्यक भएको छ । यस दिनले अब हामीलाई पनि नेपाली मनमुटु, हावापानी, माटो र सँस्कृति सुहाउँदो पद्धति र विधिको बिकास गर्नतिर पनि प्रेरणा मिलोस् भन्ने पनि शुभकामना छ ।
( बरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ डा शाक्य एडिशनल प्रोफेसर समेत हुन् । )