एम्बुलेन्समा प्राथमिक उपचारका सुविधा अनिवार्य गर्न पहल
स्वास्थ्यमन्त्रीको निर्देशनपछि एम्बुलेन्स निर्देशिका ल्याउने तयारी

काठमाण्डौं २३, असोज । नेपालमा सञ्चालनमा रहेका अधिकांश एम्बुलेन्सहरुमा बिरामीहरुका लागि प्राथमिक उपचारका सुविधाहरु समेत नभएको पाईएको भन्दै यस तर्फ स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा एम्बुलेन्स सुधार र ब्यबस्थापनको तयारी भएको हो ।
२ बर्ष अगाडि नै मापदण्ड पुरा नगरेका एम्बुलेन्सलाई व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स निर्देशिका ल्याउने तयारी गरेको थियो । तर हालसम्म उक्त निर्देशिका ल्याउन सकेको छैन । एम्बुलेन्स संचालन नीति २०६० ले हरेक एम्बुलेन्समा वर्गीकरण अनुसार जीवन रक्षाका लागि अत्यावश्यक औषधी, उपकरण, डाक्टर वा तालिम प्राप्त स्वास्थकर्मी हुनैपर्ने बाध्यकारी व्यवस्था गरेको छ । तर व्यवहारमा त्यो लागु नहुँदा अस्पताल नपुग्दै कतिपय गम्भीर बिरामीले बाटोमै ज्यान गुमाउने गरेको स्वयम् चिकित्सकहरु बताउँछन ्। तर अब भने एम्बुलेन्सको ब्यबस्थापन र मापदण्ड ल्याउँनेतर्फ ध्यानाकर्षण भएको स्वास्थ्य मन्त्रालयको दाबी छ ।
हाल नेपालमा क वर्गका तीनवटा मात्र एम्बुलेन्स सञ्चालनमा छन् भने अधिकांश ग वर्गका रहेको स्वास्थ मन्त्रालयको भनाई छ । ग वर्गमा पनि प्राथमिक उपचारका साधन, अक्सिजन सिलिन्डर, औषधी तथा उपकरण लगायतका स्वास्थ सुविधाको व्यवस्था हुनुपर्ने व्यवस्था भए पनि अहिले सञ्चालनमा रहेका नेपालका अधिकांश एम्बुलेन्स चालकको भरमा चलेको पाइन्छ ।
यस समस्याको समाधान गर्न स्वास्थ्य निर्देशिकामार्फत विशेष व्यवस्था गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न दूतावासहरुले दिएका एम्बुलेन्स बाहेक नेपालमा मन्त्रालयबाट स्विकृति लिएका करिब १२ सय एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् ।
एम्बुलेन्समा सामान्य स्वास्थ सुविधा हुँदा पनि बिरामीको उपचारमा सहज हुने र गम्भीर बिरामीलाई मृत्युबाट बचाउन सकिने सम्भावना धेरै रहने चिकित्सकहरुको भनाई छन् । तर सरकारले नियमन नीति ल्याउँन ढिलाइ गरिरहँदा बिरामीको जीवन रक्षा गर्न भन्सार छुटमा चलेका एम्बुलेन्सहरु समेत मापदण्ड लत्याएर ब्यापार गर्न मात्र मस्त छन् ।