आर्थिक अभावमा दुई टाउको भएकी बालिकाको उपचारमा समस्या
बालिकाको अवस्था सामान्य, आमाको अवस्था गंभीर

कपिलबस्तु, २० असोज । कपिलवस्तुको गणेशपुर गाविस वडा नं. ८ दत्तपुरमा एक अनौठो बालिकाको जन्म भएको छ । स्थानीय जावेद पठानकी ३५ वर्षीय पत्नी सुवियाको कोखबाट जन्म भएकी बालिकाको २ वटा टाउको रहेको छ ।
नाबालिका हेर्न स्थानीय सर्वसाधारणको दिनहुँ भीड लाग्ने गरेको छ । बालिकाको शरीरको अन्य भागहरु सामान्य भए पनि २ वटा टाउको भने अनौठो देखिन्छ । सानो टाउकोको आँखा, नाक, कान, मुख पूर्ण रुपमा विकास भएको तर ठूलो टाउकोमा भने यी अंगहरुको सामान्य आकार मात्र देखिएको छ । बालिकाको बाबु आमाको आर्थिक अवस्था निकै कमजोर रहेको छ । आफुहरुको आर्थिक अवस्था कमजोर रहेका कारण बालिकाको उपचार गर्न नसकेको उनीहरुको गुनासो छ । आर्थिक अवस्था कमजोर भएकाले उनीहरुले बालिकालाई स्वास्थ्य संस्थामा उपचार गराउन जान समेत सकेका छैनन् ।
नवजात शिशुको अवस्था सामान्य रहे पनि आमाको अवस्था भने गम्भीर रहेको छ । विचित्रको शिशु जन्मेपछि शिशु हेर्न दिनभर भीडभाड बढेको छ । नवशिशु सहित सुबियाका एक छोरा र तीन छोरीहरु छन् ।