स्वास्थ्य सचेतना अभिवृद्धिमा सरकारले पत्रकारसँग सहकार्य गर्ने
काठमाडौं, १८ असोज । स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्य सेचतना सम्बन्धी सरकारले गर्ने कामहरुमा स्वास्थ्य पत्रकारसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रबाट हुने स्वास्थ्य सचेतनासम्बन्धी अभियानमा मञ्चसँग सहकार्य गर्ने घोषणा गरेका हुन् । नसर्ने रोगको प्रकोप बढिरहेका बेला पत्रकारसँग सहकार्य गरेर रोकथामका अभियान चलाउन सकिने मन्त्री थापाको भनाई छ । स्वास्थ्य सम्बन्धी समाचार सम्प्रेशण गर्ने पत्रकारको ज्ञान अभिवृद्धि गर्न एवं सही सूचना जनमानसमा पुर्याउन मञ्चसँग मिलेर ‘कन्टिन्युनियस जर्नालिष्ट एडुकेशन’ सञ्चालन गर्ने, संघीय व्यवस्थामा हुने स्वास्थ्य पुनर्संरचना गर्ने सन्दर्भमा स्वास्थ्य पत्रकारको विज्ञता पनि प्रयोग गरिने मन्त्री थापाले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य पत्रकारसँगको सहकार्यमा मात्र जनमानसमा प्रभावकारी सञ्चार गर्ने सकिने बताए । कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष अनिल न्यौपानेले स्वास्थ्य प्राविधिक विषय भएकाले मञ्चको संयोजनमा स्वास्थ्य ‘बिट रिपोर्टिङ’ मा क्रियाशिल पत्रकारलाई तालिम एवं क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिने बताए ।
शुभकामना आदानप्रदानमा सूर्तिजन्य पदार्थको प्रयोग एवं बिक्रिवितरणमा न्यूनीकरण ल्याउन अभियान गरिरहेको संस्था एक्सन नेपाललका अध्यक्ष आनन्द बहादुर चन्दले सरकारले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धी कडा कानून बनाएपनि कार्यान्वयनमा समस्या रहेको औल्याँए ।
स्वास्थ्य पत्रकारमञ्च तीन वर्षअघि गठन भएपनि ठोस रुपमा सक्रिय हुन सकेको थिएन । मञ्चले तिहार लगत्तै अधिवेशन गरेर देशभरका स्वास्थ्य पत्रकारलाई संगठित बनाएर लाने योजना बनाएको मञ्चका महासचिव मनिष गौतमले जानकारी दिए ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।