सुनसरीमा ६२ प्रतिशतको गर्भपतन असुरक्षित



Download our app to get more features

सुनसरी, १८ असोज । अनिच्छित गर्भ रहने कानूनी रुपमै पतन गराउन पाइने भए पनि जिल्लामा अझै ६२ प्रतिशतको असुरक्षित गर्भपतन हुने गरेको छ । 

सरकारी स्वास्थ्य संस्था र अनुमतिप्राप्त स्वास्थ्य संस्थामा नौ हप्तासम्मको गर्भपतन गराउन पाइन्छ । तर, यस्तो सेवाको पहुँच ३८ प्रतिशतमा मात्र रहेको बताइएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

गर्भपतन गराउन अनुमति प्राप्त संस्था अधिकांश सहरकेन्द्रीत छन् भने गर्भपतन गराउने ७५ प्रतिशत महिला गाउँका रहेको तथ्यांक छ । जसका कारण उनीहरु गाउँ–टोलमै रहेको स्वास्थ्य संस्थाबाट असुरक्षित रुपमा गर्भपतन गराउन बाध्य भइरहेको निमित्त जनस्वास्थ्य प्रमुख लालबहादुर यादवले बताए । 

असुरक्षित गर्भपतनकै कारण गर्भवती महिलाको मृत्यु संख्यामा कमी नआएको पनि उनले बताए । सुनसरीमा २० फागुन २०७१ बाट सुरक्षित गर्भपतन सेवा सुरु भएको हो । 

कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै सात सय ५६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेरीस्टोप्स क्लिनिक र परिवार नियोजन संघबाट तीन हजार चार सय ३७ जनाले यस्तो सेवा लिएका छन् । 

जसमा २० वर्षमुनिको युवतीको संख्या दुई सय ८३ र त्यसभन्दा माथिका तीन हजार एक सय ५४ रहेको बताइएको छ । 

Last modified on 2017-08-14 15:26:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts