दसैँको मुखमा ज्वरोको प्रकोप, धेरैमा डेङ्गु
चितवन, १७ असोज । रत्ननगर नगरपालिका–२ आदर्श टोलका प्रशान्त ढकाल ज्वरोले थलिए । अस्पताल आएपछि केही ठीक भयो ।
घर गएर आराम गर्न थालेका उनमा बेलाबेलामा फेरि ज्वरो देखिने र शरीर तागत नै नभएको जस्तो लाग्न थाल्थ्यो । अनि उनलाई चित्त बुझेन र फेरि डेङ्गु पो हो कि भनेर शङ्काले आइतबार रत्ननगर बकुलहर अस्पतालमा डेङ्गु परीक्षणका लागि आए ।
ढकाल भने ‘गाउँभरि डेङ्गु र ज्वरोका बिरामी छन्, मलाइ पनि डेङ्गु लागेको हो कि भनेर पुनः परीक्षणमा आएको ।’
रत्ननगरकै लक्ष्मी सेन्च्युरीलाई हनहन्ती १०५ ज्वरो आएको छ । उनी अस्पताल श्ययामा छिन् । उनको उपचारका लागि आफन्त आशमायाँ विक कुरुवा भएर आएकि छिन् । लक्ष्मीको पनि डेङ्गुको आशङ्कामा रगत परीक्षण भइरहेको छ ।
‘यो डेङ्गु गाउँभरि छ, गाउँका धेरै मान्छे अहिले बिरामी भएर सुतिरहेका छन्’, आशमायाँले भनिन् ‘सरकारले नियन्त्रण गर्नुप¥यो ।’
गाउँटोलभरि ज्वरो फैलिएपछि रत्ननगर टोल विकास संस्था समन्वय समितिका सचिव प्रताप डल्लाकोटी र शिक्षक गोपीलाल श्रेष्ठले बजार क्षेत्रको अवस्था अध्ययन गरे।
हरेक मेडिकल अस्पतालमा बिरामीको उत्तिकै चाप रहेको र आएका जति ज्वरोका बिरामी रहेको डल्लाकोटीले जानकारी दिए । तत्कालै नियन्त्रण अभियान नचलाए रत्ननगरमा महामारी फैलने खतरा रहेको डल्लाकोटी आशङ्का गरे ।
अस्पतालमा भेटिएका बिरामी ढकाल र बिरामीका आफन्त आशमायाँको भनाइमा पनि रत्ननगरका बजार क्षेत्रका विभिन्न टोलमा अहिले ज्वरोको प्रकोप फैलिएको छ ।
रत्ननगर अस्पतालको बिरामी अभिलेख शाखाकी अहेब विमला शर्मा अहिले बिरामीको चाप अस्पतालमा बढेको बताइन ।
भदौ १६ गते अस्पतालमा १३४ जना बिरामी उपचारका लागि आएका थिए । एक महिनापछि असोजको १६ गते उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेर २८४ पुगेको शर्माले जानकारी दिए । आएका पनि धेरै ज्वरोका बिरामी छन् । यसले पनि बिरामीको चाप बढेको देखाउँछ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसूदन कोइराला रत्ननगरमा गरिएको अनुगमनमा ज्वरोका बिरामी प्रशस्तै देखिएको र उनीहरुमध्ये अस्पताल आएका धेरैलाई डेङ्गु भएको बताए । अहिले डेङ्गुको नियन्त्रण अभियान थालिएको छ ।
रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>