अस्पतालको उपकरण लिलाम बिक्री छानबिनका विषयमा गम्भीर बन्न प्रशासनलाई आग्रह
खोटाङ, १७ असोज । जिल्लाका राजनीतिक दलका नेताले जिल्ला अस्पतालको उपकरण लिलाम बिक्री छानबिनका विषयमा गम्भीर बन्न प्रशासनलाई आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै जिल्लामा क्रियाशील १० दलका नेताले कौडीको भाउमा लिलाम बिक्री गरिएको जिल्ला अस्पतालको ११२ किसिमका उपकरण तथा सामान लिलाम बिक्रीका विषयमा ढिलासुस्ती नगर्न आग्रह गरेका हुन् ।
लिलाम बिक्रीमा परेका उपकरण तथा सामानका विषयमा छानबिन गर्न प्रशासन गम्भीर नबनेको आरोप लगाउँदै दलका नेताहरु ज्ञापनपत्रसहित ध्यानाकर्षण गराउन प्रशासन पुगेका थिए । प्रजिअ कार्कीले भने दिक्तेलका तीन स्थानमा फेला पारिएको उपकरण तथा सामानलाई सिलबन्दी गरेर छानबिन अगाडि बढाइएको बताए ।
जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० थरिका उपकरण तथा सामान २६ हजार ५०० मै लिलाम बिक्री गरिएको भन्दै जिल्लामा विरोध भइरहेका छन् । गत फागुनमै लिलाम बिक्री गरेको कतिपय उपकरण मर्मतपछि दिक्तेलमै खोल्न लागिएको एक निजी अस्पतालमा उपयोगमा ल्याउन लागिएपछि लिलामको विषय बाहिर आएको हो ।
ज्ञापनपत्र बुझाउँदै नेकपा क्रान्तिकारी माओवादीका किरात राज्य समिति सदस्य देवीप्रसाद रिजालले सार्वजनिक सम्पत्तिको जवाफदेहिताप्रति गम्भीर बन्दै षडयन्त्र र छलछाम गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरे।
रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>