गर्भवती किशोरी स्कुल फर्कंदैनन्
लमजुङ, १७ असोज । चितीकी १४ वर्षीया एक किशोरी ७ कक्षा पढ्दै गर्दा गर्भवती भइन् । पेट बढेको बाहिरैबाट थाहा हुन थालेपछि उनले स्कुल जान बन्द गरिन् ।
८ कक्षा पढ्ने भुलभुलेकी १५ वर्षीया अर्की किशोरीले यस्तै परिबन्धमा पढाइ त्यागिन् । दुवैको सहपाठी किशोरसँग ‘मायाप्रेम’ थियो । शिक्षकहरुका अनुसार किशोरीहरु कम उमेरमै गर्भवती भएर स्कुल आउन छाड्नु अब नौलो मानिन छाडेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
किशोरीसँगै उनीहरुका केटा साथी पनि आउन छाड्छन् । ‘शारीरिक परिवर्तनबारे बुझ्ने उमेरमै यौन क्रियाकलापमा लागेका किशोर–किशोरीमध्ये केहीले आमाबाबुलाई बताएर बिहे गर्छन्, केही त्यसै बस्छन्,’ एक शिक्षकले भने ।
हिलेटक्सारकी १५ वर्षीया किशोरीले कक्षा ७ र भोटेओडारकी १६ वर्षीयाले ८ कक्षामै पढाइ छाडे । परेबाडाँडाकी १४ वर्षीया किशोरीको गत फागुनमा विवाह भयो । उनी पनि ७ कक्षा पढ्दै थिइन् ।
बागलुङपानीकी एक किशोरीको १५ वर्षको उमेरमा विवाह भयो । शैक्षिक तथा सामाजिक क्षेत्रमा काम गर्ने अधिकारीका अनुसार जिल्लामा विवाहअगावै वा विवाहपछि कम उमेरमै गर्भवती भई पढाइ छाड्ने किशोरी बढ्दै छन् ।