विभागको हाता भित्र भेटिएको हेरोइनमा हाम्रो संलग्नता छैन : औषधि व्यवस्था विभाग
काठमाडौं, १४ असोज । पानस फर्मास्युटिकल्सको दराजमा फेला परेको हेरोइनमा आफूहरुको कुनै हात नरहेको औषधि व्यवस्था विभागले जनाएको छ । केहीदिन अघि नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले छापा मार्दा विभागको उद्योगको शाखामा रहेको पानस पानस फर्मास्युटिकल्सको दराजमा थन्काइ राखेको २२ ग्राम हेरोइन फेला पारेको थियो ।
औषधि व्यवस्था विभागले विहीबार पत्रकार सम्मेलन गरी सो हेरोइन पानस फर्मास्युटिकल्सको दराजमा फेला पर्नुप्रति आफूहरुको कुनै हात नरहेको स्पष्ट पारेको हो ।
औषधि कम्पनीको फाइल सुरक्षित राख्नको लागि विभागले सबै औषधि कम्पनीलाई विभाग भित्र दराज राख्ने व्यवस्था गरेको छ । यसै मौकालाई फाइदा उठाउदै पानस फर्मास्युटिकल्सका प्रशासन सहायक सुशील गुप्ताले दराजमा हेरोइन राखेका थिए ।
यस घटना पछि विभागले औषधि कम्पनीलाई दराज खोल्न रोक लगाएको विभागका महानिर्देशक नारायाण प्रसाद ढकालले बताए ।
‘यस विषयमा विभागको कुनै पनि सम्बन्ध रहेको छैन’ ढकालले भने, ‘हामीले अनुसन्धानका लागि लागूऔषध नियन्त्रण व्यूरोलाई अनुसन्धानका लागि पूर्णरुपमा सहयोग गरिरहेका छौं ।’
पत्रकार सम्मेलनमा पानस फर्मास्युटिकल्सका बजार निर्देशक नरेश कुमार श्रेष्ठ भने गुप्ता राम्रो कर्मचारी भएको हुदा यस्तो कार्य गर्ला भनेर आफूहरुले नसोचेको बताए । उनले भने अनुसन्धानमा सहयोग पुर्याउन गुप्तालाई बोर्ड बैठकको निर्णय अनुसार निलम्बन गरिएको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>