पूर्वराष्ट्रपति यादवको शल्यक्रिया सफल
असोज ९, काठमाण्डौं । प्रोस्टेट क्यान्सरको उपचारका लागि अमेरिका पुगेका पूर्व राष्ट्रपति रामबरण यादबको सफल शल्यक्रिया भएको छ । उनको अमेरिकाको मिचिगन शहरस्थित हेनरी फोर्ड अस्पतालमा शल्यक्रिया भएको हो ।
डा. मणिमेनन् समुहका चिकित्सकले यादवको शल्यक्रिया गरेको थियो । यादवलाई २४ घण्टा पोस्टअपमा राखिएपछि हाल पाहुनाघरमा सारिएको छ । उपचारमा संलग्न चिकित्सक तथा नर्सले पुर्व राष्ट्रिपति यादवलाई कडा निगरानीमा राखेर उपचार गरिरहेको उनका छोरा चन्द्रमोहन यादवले बताए । प्रोस्टेट क्यान्सरको उपचारकै लागि यादवलाई नेपाल सरकारले हालै ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
साउनको दोश्रो साता उनको पिसाबमा समस्या देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालमा परीक्षण गराएका थिए । परिक्षणका क्रममा अस्पतालले उनलाई क्यान्सर लागेको शंका गरेको थियो । त्यसपछि थप उपचारका लागि उनी भारत गएका थिए । भारतमा उपचारका क्रममा उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो । उनलाई अस्पतालले नै उच्च चिकित्साप्रविधि प्रयोग गरी शल्यक्रिया गर्न सुझाव दिएको थियो । सोही सुझावअनुसार उनी थप उपचारका लागि अमेरिका जाने निर्णयमा पुगेका थिए ।
नेपालमा यस सम्बन्धि उपचारका लागि उच्च प्रविधि नभएपछि नै मेडिकल बोर्डले गत भदौ ५ गते पूर्व राष्टपति यादवलाई अमेरिका जान सिफारिस गरेको थियो ।