चिकित्सककै लगानीमा स्वास्थ्य शिविर
ललितपुर, ९ असोज । नेपाल फिलिपिन्स सोसाइटीमा आबद्ध चिकित्सकले आफ्नै लगानीमा श्रीमहालक्ष्मी नगरपालिका–२ स्थित सिस्नेरी उच्चमाविमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरे ।
नेपाल रेडक्रस सोसाइटी लामाटार उपशाखाको आयोजनामा शनिबार सम्पन्न सो शिविरमा बालरोग, मुटुरोग, दन्तरोग, स्त्रीरोग, पेटको समस्या र सामान्य चिकित्सासँग सम्बन्धित एक सय ७० बिरामी लाभान्वित भएका थिए ।
डा रोशन पिया र डा केयुर गौतमको नेतृत्वमा फिलिपिन्समा अध्ययन गरिफर्केका ३० चिकित्सक र पाँच प्राविधिकसहितको टोलीले आआफ्नै खर्चमा निःशुल्क औषधि वितरण गर्नाका साथै इसिजी, भिडियो एक्सरे र रक्त परीक्षण गरेको थियो । ती चिकित्सकले शिविरमा खाजा र खाना खर्च पनि आआफैँ व्यहोरेका थिए ।
आफ्नो आम्दानीको केही हिंस्सा समाजसेवामा लगाउनुपर्छ भन्ने धार्मिक मान्यताले चिकित्सकले बिदाको सदुपयोग गर्दै शिविरलाई सहयोग गरेको शिविर संयोजक वरिष्ठ अहेव हरिशरण थापाले जानकारी दिए । डा पियाले बेलाबखत फुर्सदको समय निकाली आफूहरु यसरी शिविरमा संलग्न हुन पाउँदा आत्मसन्तुष्टि मिल्ने बताए ।
रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>