अस्पतालमा सेवा विस्तार तीव्र, आधुनिक शवगृह निर्माण

What's This?


Download our app to get more features

चितवन, ७ असोज । भरतपुर अस्पतालमा पछिल्लो समयमा ठूला करोडौँ मूल्यका भवन निर्माणसँगै सेवा सुविधा विस्तार तथा आधुनिक प्रविधिको प्रयोग बढाउन थालिएको छ । 

आकस्मिक कक्षलाई पुनःनिर्माण गरी आधुनिक सफा र बिरामीमैत्री बनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासैनीले जानकारी दिए ।

अस्पतालको आकस्मिक कक्ष संरचनागत कमजोरीका कारण सन्तोषजनक नभएको गुनासा आएपछि अस्पतालले आकस्मिक कक्षमा सुधार गरी नयाँ रुप दिएको छ । 

आकस्मिक कक्षमा सेन्ट्रल अक्सिजन आपूर्ति, भेन्टिलेटर, डिफ्रिबेलेटर, एसीसहित कक्षका लागि आवश्यक आधारभूत उपकरण र जनशक्तिको व्यवस्थापन गरिएको अस्पतालका मेसु डा द्रप्रसाद मरासिनीले जानकारी दिएका छने ।

यसअघि आइसियु, पोस्ट अपरेटिभ वार्ड, शल्यक्रिया कक्षमा समेत सेवा सुविधा विस्तार गरी प्रविधिमैत्री बनाइएको छ । 

आइसियुलाई आधुनिक प्रविधि प्रयोग गरेर क्षमता विस्तार गरी २८ श्ययाको बनाइएको छ । विसं २०६६ मा सात बेडबाट आइसियु सुरु भएको थियो । 

स्तरीय र आधुनिक श्ययाको समेत व्यवस्था गरिएको भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । उनका अनुसार वृद्धवार्ड र पोस्ट अपरेटिभ वार्डलाई समेत विस्तार गरिएको र एकै ठाउँबाट छवटा सम्म शल्यक्रिया गर्न मिल्ने गरी शल्यक्रिया कक्षसमेत आधुनिक बनाइएको छ । 

यही वर्षबाट भरतपुर अस्पतालमा सिटी स्क्यान ल्याउने कामसमेत सुरु भएको छ । भरतपुर अस्पतालले ‘ए’ र ‘बी’ ब्लकको निर्माण पूरा गरेसँगै ‘सी’ ब्लक भवन निर्माणसमेत सुरु गरेको छ । यसका लागि रु २८ करोड ८२ लाख रकम सरकारबाट स्वीकृत भएको अस्पताल विकास समितिले जनाएको छ । 

भवनमा नेपाल सरकारको ८० प्रतिशत लगानी हुनेछ भने, भरतपुर अस्पतालको २० प्रतिशत लगानी हुनेछ । 

भवनको तल्लो भुइँतलामा सिटी स्क्यान, एमआरआई, ल्याब, हिस्टोप्याथोलोजी, एक्स–रे, ल्याब, इसिजी, इको, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङ्कोसकोपीलगायतका सेवा सुविधा उपलब्ध हुनेछ । अस्पतालमा सर्जिकल, न्युरो र कार्डियोलोजी विभाग रहेका छन् । 

आधुनिक शवगृह निर्माण 

सरकारी अस्पतालमध्येमै राजधानी बाहिर सुविधायुक्त मानिने चितवनको भरतपुर अस्पतालमा चार वर्षको अन्तरालपछि शवगृह निर्माण सम्पन्न भएको छ । 

कलेज अफ मेडिकल साइन्सेज भरतपुर, चितवनको सहयोगमा व्यवस्थित शवगृह निर्माण भएको भरतपुर अस्पताल विकास समितिले जनाएको छ । 

यसअघि पटकपटक शवगृह निर्माणका विषयमा भरतपुर अस्पताल र मेडिकल कलेजबीच मतान्तर हुँदा शवगृह अलपत्र अवस्थामा थियो । निर्माण सम्झौताका विषयमा विवाद हुँदा लामो समय शवगृह निर्माणको काम रोकिएको भरतपुर अस्पतालले समेत स्वीकार गरेको छ । 

पछि अस्पताल विकास समितिले दिएको दबाबका कारण शवगृह निर्माण सम्पन्न भएको अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए । 

यसअघि अस्पतालको मूलद्वारमै शवगृह हुँदा दुर्गन्ध फैलिँदै आएको थियो ।

रासस 

Last modified on 2017-08-15 15:26:31

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts