नेता नै पिच्छे फरक–फरक रोग
स्वास्थ्य नै धन हो भन्ने उखान यत्तिकै प्रचलनमा आएको होइन । आम मानिस स्वस्थ हुनका लागि उसको तन र मन दुवै स्वस्थ हुनु जरुरी छ । स्वस्थ व्यक्तिको गतिविधि सहज र निर्णय क्षमता पनि राम्रो हुन्छ । देश सञ्चालनको जिम्मेवारी लिएका नेताहरु शारीरिक र मानसिक दृष्टिले स्वस्थ र स्फुर्त हुन झनै आवश्यक छ । नेताको स्वास्थ्यसँग देश र जनताको स्वास्थ्य नै गाँसिएको हुन्छ किनकी नेताले लिने हरेक निर्णय सकारात्मक भए मुलुकको हितमा काम हुन्छ । बुढ्यौली उमेरका अधिकांस नेपाली नेताहरु कुनै न कुनै रोगबाट ग्रसित छन् । चिकित्सकले पनि नेतृत्वमा रहेका नेताहरुको स्वास्थ्य स्थितिप्रति विशेष चासो देखाउँदै नेताहरुलाई स्वास्थ्य सम्बन्धि सुझाब दिंदै आएका छन् ।
विद्या भण्डारी, राष्ट्रपति
रक्तक्यान्सर निको भए पनि राष्ट्रपति भण्डारीलाई हड्डीको समस्या छ । लगातार ६ महिनासम्म किमोथेरापी गरेपछि रक्तक्यान्सर निको भएको थियो । तर, रक्तक्यान्सरको प्रभावले हड्डीमा समस्या भएपछि उनको हिपज्वाइन्टको अप्रेसन गरिएको थियो । हड्डीमा समस्या भएकै कारण उनलाई हिँडडुलमा कठिनाइ हुने गरेको छ । हड्डीको समस्या देखिएपछि बेलाबेलामा उनी फिजियोथेरापी गराउँछिन् । उनी नियमित औषधि पनि सेवन गर्छिन् ।
पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डलाई उच्च रक्तचाप र मधुमेहको समस्या छ । चिकित्सकहरूकोे सल्लाहअनुसार उनी नियमित औषधि सेवन गरिरहेका छन् । हरेक दिन बिहान व्यायामलाई निरन्तरता दिने गरेका कारण अहिले रक्तचाप र सुगर दुवै नियन्त्रणमा रहेको उनका सहयोगिको भनाई छ । दाहाल डा. दामोदर गजुरेलसित नियमित स्वास्थ जाँच गराउँछन् ।
केपी ओली, अध्यक्ष, नेकपा एमाले
सात वर्षअघि भारतको अपोलो अस्पतालमा केपी ओलीले मृगौला प्रत्यारोपण गराएका थिए । पछिल्लाे समय सेवन गरिरहेका विभिन्न औषधिका कारण सुगरको मात्रा बढेर बेला बेला अध्यक्ष ओली बिरामी पर्ने गरेका छन् । उनले शरीरलाई शक्ति दिने स्टोरोयडसहित सुगर, पायल्स र उच्च रक्तचापको औषधिसमेत नियमित खाइरहेका छन् । ओलीलाई रातको समयमा आँखा नदेख्ने समस्या पनि छ । ओली बिहानदेखि बेलुकासम्मसमस्या, गुनासा र जिज्ञासा समाधान गर्न आम मानिससँग भेटघाट र छलफलमा व्यस्त रहन्छन् । तर मिर्गौला प्रत्यारोपणपछि खाने औषधिले रक्तचाप, सुगर र युरिक एसिडसमेत बढाउन सक्ने र संक्रमणको जोखिम पनि बढी हुने भएकाले धेरै मानिससँग सम्पर्कमा नरहन ओलीलाई चिकित्सकले सुझाव दिएका छन् ।
शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस
पेट र उच्च रक्तचापको समस्याबाट कांग्रेस सभापति शेरबहादुर देउवा लामो समयदेखि पीडित छन् । उनी सिंगापुरमा पेटको नियमित परीक्षण गराउन जाने गरेका छन् । पेटमा समस्या देखिएपछि सभापति देउवाले चुरोट पिउन छोडेका छन् ।
झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा एमाले
हेर्दा हट्टकट्टा देखिने नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल साँझ परेलगत्तै सहयोगी बिना हिडडुल गर्न नसक्ने कुरा धेरैलाई थाहा छैन । रतन्धोको समस्या भएका नेता खनाल रातको समयमा यताउता गर्न पनि सहयोगी सँगै चाहिन्छ । विद्यार्थी राजनीति गर्दा नै खनालाई क्षयरोग भएको थियो । उपचारपछि टीबी त निको भयो तर त्यसको ‘साइडइफेक्ट’का रूपमा उनलाई आँखा नदेख्ने रोगले गाँजेको उनका निकटहरू बताउँछन् । नेता खनाललाई मुटुको पनि समस्या छ । उच्च रक्तचापका कारण कहिलेकाहीँ मुटुमा समस्या देखिन थालेपछि उनी नियमित चेकजाँच गराउने गरेका छन् । उनलाई मृगौला र प्रोस्टेटको समस्या पनि देखिन थालेको छ भने जीब्रोले पाउने स्वाद पनि गुमाएको सहयोगी बताउँछन् ।
रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस
लामो समयदेखि सुगर, प्रोस्टेट, ढाड र युरिक एसिडको समस्या छ नेता पौडेललाई । यूरिक एसिडका कारण कहिलेकाहीँ खुट्टाको पनि समस्या देखिने गरेको छ । उनी निकट स्रोतका अनुसार अहिले युरिक एसिड नियन्त्रणमा आइसकेको छ । प्रेसर र प्रोस्टेटको नियमित औषधि सेवन गरिरहेका छन् उनी । केही समयअघि पौडलले प्रोस्टेट र पायल्सको शल्यक्रिया गराएका थिए ।
माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा एमाले
माधवकुमार नेपाललाई मुटु र फोक्सोसम्बन्धी समस्या छ । उच्च रक्तचाप पनि छ नेपाललाई । नियमित व्यायाम र योग गर्ने नेपालको स्वास्थ्यामा केही सुधार आएको उनका सहयोगीहरुले बताएका छन् । निमोनिया र पिसाबमा संक्रमणसमेत देखिएपछि नेता नेपाल केही सयमअघि उपचारका लागि अस्पताल बसेका थिए । रोगले च्याप्न थालेपछि नेपालले खानपान र दैनिक व्यवहारमा सावधानी अपनाउन थालेका छन् ।
डा. बाबुराम भट्टराई, संयोजक, नयाँ शक्ति नेपाल
डा बाबुराम भट्टराईलाई रक्तचापको सामान्य समस्या छ । उनलाई कहिलेकाँही गाडीमा बसेकै बेला रिंगटा लाग्ने समस्या पनि छ । पारिवारिक स्रोतका अनुसार स्वास्थको ख्याल गरेर उनी चिल्लो र पिरो कम खान्छन् । मासु पनि उनी कमै खान्छन् । उनको स्वास्थ पनि डा. गजुरेलले नै चेकजाँच गर्ने गर्छन् ।
कमल थापा, अध्यक्ष राप्रपा नेपाल
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स्वास्थ्यमा खासै समस्या छैन । तर, चस्मा नलगाई पढ्न भने उनी सक्दैनन् । टेनिसका खेलाडी उनी हरेक दिन बिहान व्यायाम गर्छन् र टेनिस खेल्छन् । मदिरापान र धुम्रपानबाट उनी टाढै छन् ।
मोहन वैद्य किरण, अध्यक्ष, क्रान्तिकारी माओवादी
मोहन वैद्यलाई दमको समस्या छ । उनी नियमित औषधि सेवन गर्छन् । रक्तचापका लागि भने खानपिन र जीवनशैलीमा विशेष ध्यान दिने गर्छन् । चिकित्सकले आराम गर्ने सल्लाह दिएपनि अध्यक्ष वैद्यको राजनीतिक दौडधुपले स्वास्थ्यप्रति सचेत नरहेको पारिवारीक स्रोतले जनाएको छ ।
नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एमाओवादी
घाँटीको नसामा समस्या भएपछि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भर्खरै शल्यक्रिया गराएका छन् । उनी हाल घरमै आराम गरीरहेका छन् । श्रेष्ठलाई कहिलेकाहीँ उच्च रक्तचापको समस्या पनि देखिन्छ । तर, नियमित योगा गरेर उनले रक्तचापको समस्यालाई नियन्त्रण गर्दै आएका छन् । उनको स्वास्थ्य जाँच भने डा. वसन्त पन्तले गर्छन् ।
विजयकुमार गच्छदार, अध्यक्ष, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
विजयकुमार गच्छदारले विद्यार्थी राजनीति गर्न थालेपछि नै आँखाको समस्याले दुख दिएको छ । उनको देब्रे आँखाको ज्योति गुमेको छ । हरेक दश मिनेटमा उनी दुवै आँखामा औषधि लगाइराख्छन् । जतिबेला पनि आँखाको औषधि र रुमाल उनको गोजीमै हुन्छ । उपचारका लागि उनी बलबेलामा भारत र बैंकक जान्छन् । चिकित्सकहरुले उनको आँखाको नानी फेर्न नसकिने बताएपछि उनी नियमित औषधि मात्र प्रयोग गर्छन् । स्वास्थ्यप्रति उनी निकै सचेत रहेका गच्छदार हरेक दिन बिहान दुई घन्टा योगा र व्यायाम गर्छन् ।